कपिलवस्तुमा सिडिओसहित १० पालिकाका शिक्षा शाखा प्रमुखको साथमा बृहत शैक्षिक बहस

वाणगंगा ।
कपिलवस्तुमा विद्यमान शैक्षिक समस्या समाधानका लागि दबाब स्वरुप बृहत शैक्षिक बहस गरिएको छ । अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको आयोजनामा भएको बृहत शैक्षिक बहसमा जिल्लास्थित नेविसंघ, नेकपा (एस) निकट अनेरास्ववियू, अखिल (छैठौं) र अखिल ९क्रान्तिकारी० ले साझा एजेण्डा भन्दै समर्थन गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनले ११ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।

विद्यार्थी संगठनले सबैधानिक रुपमा व्यवस्था गरिएको माध्यमिक ९१ देखि १२० तहसम्मको शिक्षालाई पूर्णतया निशुल्क गर्नु पर्ने, एक स्थानीय तह एक प्राविधिक शिक्षालयको व्यवस्था गर्नु पर्ने, कोभिड–१९ अवधिभरमा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुबाट लिइएको शुल्क फिर्ता वा समायोजन गर्नु पर्ने, सामुदायिक वा संस्थागत विद्यालयहरुले मार्कसिट, चारित्रिक प्रमाण पत्र, स्थानान्त्रण प्रमाणपत्रमा लिईदै आएको चर्को शुल्क अनिवार्य रुपमा घटाई लागत शुल्कको आधारमा लिनु पर्ने, छात्रवृत्ति वितरण गरिब, जेहन्दार एवं अल्पसंख्यकहरुलाई वितरण गर्नु पर्ने साथै बार्षिक रुपमा वितरण गरेको छात्रवृत्ति विवरण सार्वजनिक गर्नु पर्ने लगायत रहेका छन् ।

यस्तै संस्थागत विद्यालयहरुले लिईदै आएको चर्को शुल्क घटाउनु पर्ने, सामुदायिक विद्यालयहरुले अंग्रेजी भाषाको शिक्षाको बाहनामा चर्को शुल्क लिई अध्यापन गराउने कार्य तत्कालै बन्द गर्नु पर्ने साथै सरकारले उपलब्ध गराएका पाठ्य पुस्तक वितरण गरि पढाउनु पर्ने, शिक्षक भर्ना गर्दा पूर्ण प्रतिस्पर्धाका आधारमा मात्रै गरिनु पर्ने साथै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको दक्षता एवं योग्यता नियमित रुपमा स्थानीय तहहरुले अनिवार्य अनुगमन गर्नु पर्ने, बालविकास अध्यापन गराउने शिक्षकलाई राज्यले निर्धारण गरेको शुल्क तत्कालै उपलब्ध गराउनु पर्ने, संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा श्रम ऐन बमोजिम न्यूनतम रुपमा पारिश्रमिक वितरण गर्नु पर्ने, एक विद्यालयबाट अर्को विद्यालयमा विद्यार्थी भर्ना गर्दा अनिवार्य रुपमा स्थानान्तरण प्रमाण पत्रको आधारमा मात्रै गर्नु पर्ने माग राखेका छन् ।

यी मागहरुको विषयमा धारणा राख्दै नेवि संघका महाधिवेशन प्रतिनिधि रुपक खनाल, अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिशचन्द्र खनाल, अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागी, अखिल छैठौंका केन्द्रीय सचिव सरोजमान सिंह, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले तत्काल समस्याको समाधान गर्नुपर्ने समान धारणा राखेका थिए ।

विभिन्न समय यी मागहरु विद्यार्थी संगठनहरुले राखेपनि सुनुवाई नभएको भन्दै अब पनि मागहरुको वेवास्था भए चरणबद्ध संघर्ष गर्न विद्यार्थी संगठनहरु तयार हुने चेतावनी दिएका थिए ।

छलफलमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले कपिलवस्तुमा विद्यमान शिक्षा क्षेत्रका चुनौती, सुधारका उदाहरण र ११ बुँदे मागमा समेटिएको विषयवस्तुलाई समेटेर धारणा राख्नुभएको थियो । इकाई प्रमुख घिमिरेले छलफलको निचोड निकालि सबै पालिकालाई कार्यान्वयनको लागि निर्देशन दिने बताउनुभयो ।

मागहरुबारे धारणा राख्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले शैक्षिक सुधारका लागि विद्यार्थी संगठनले राखेका माग जायज भएको बताउनुभयो । शिक्षाको सुधार विना अरु क्षेत्रको विकास सोचेजस्तो नहुने भन्दै शैक्षिक सुधारमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको पढाई कमजोर हुने गरेको अब सामुदायिक विद्यालयहरु सुधार्न जरुरी रहेको बताउनुभयो । शिक्षा ऐनमा अझै सुधारको जरुरी रहेको भन्दै काठमाडौंको पालिका र हुम्लाको पालिकाको लागि एउटै कानुन बनाउन नहुने बताउनुभयो । पालिकाको परिवेश अनुसारको कानुन बनाएर शिक्षा क्षेत्र सुधार्नुपर्नेमा उहाँको जोड थियो ।

संयुक्त विद्यार्थी संगठनले शिक्षा क्षेत्रको सुधारका लागि बृहत बहस आयोजना गरेको प्रति धन्यवाद दिदैं आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा संयुक्त विद्यार्थीको तर्फबाट पेश भएको ध्यानाकर्षण पत्रबारे १० वटै पालिकाका शिक्षा शाखा प्रमुखले आ आफ्नो धारणा राख्नुभएको थियो ।

अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष विजय पौडेल (आभाष)को सञ्चालन रहेको कार्यक्रममा अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागीले ११ बुँदे ध्यानाकर्षण पेश गर्नुभएको थियो । छलफलको अध्यक्षता अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले गर्नुभएको थियो ।

TOP