रातमा मालपोत अड्डाः प्रमुखसहित २१ जना पक्राउ
पर्सा, कार्यालय समय सकिएपछि जिल्ला मालपोत कार्यालयमा पसेका कार्यालय प्रमुखसहित १३ कर्मचारी र ८ जना बिचौलियालाई जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले बिहीबार राति नियन्त्रणमा लिएको छ।
विभागीय स्विकृतिबिना कार्यालय समयपछि कार्यालयबाहिरका मानिससमेत भित्र पसाएर कर्मचारीले शंकास्पद गतिविधि गर्न थालेको सूचना पाएपछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमु्ख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा प्रसाशकीय अधिकृत विनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले कार्यालयमा राति ९ बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जानकार प्रजिअ तामाङले दिए।
‘हामी राति करिब ९ बजे कार्यालयमा पुग्दा केही कर्मचारी र कार्यालयसँग असम्बन्धित केही मानिस फाइल केलारहेका थिए। उनीहरु प्रहरीसहितको टोली देखेर अत्तालिए,’ वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक पुरीले भने, ‘हामीसँग प्रहरी ७ जना मात्र थिए तर कार्यालयका २ वटा कोठामा रहेका उनीहरुलाई रोकेर नियन्त्रणमा लिन सफल भयौं।’
छापा मारी मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १३ कर्मचरी र ८ जना कार्यालय बाहिरका मानिसलाई नियन्त्रणमा लिएको उनले बताए। ‘सुरुमा नाम, परिचय र अन्य विवरण लिने काम भयो, त्यसपछि नियन्त्रणमा लियौं,’ उनले भने।
कर्मचारी पनि स्वीकृतिबिना कार्यालय समयबाहेक कार्यालयमा पस्न पाइँदैन। तर कार्यालय समय सकिएपछि पनि कर्मचारीले बाहिरका मानिस भित्र लगेर शंकास्पद काम गरिरहेको सूचनाका आधारमा छापा मारिएको र २१ जनालाई नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताएको आजको नागरिक दैनिकमा खवर छ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


