६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा

रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।

शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को टोलीले बाढीले थुपारेको ढुंगा, माटो र काठभित्रबाट बालिकाको सकुशल उद्धार गरेको हो।

सशस्त्र प्रहरीका अनुसार टिमुरे बोर्डर आउटपोस्ट (बीओपी) बाट करिब दुई सय मिटर नजिक बाढीले थुपारेको ढुंगा र काठको बीचमा खोजी गर्ने क्रममा बालिका भेटिएकी हुन्।

लामो समयसम्म माटो र भग्नावशेषमा पुरिए पनि बालिका जीवित अवस्थामा भेटिनु उद्धार टोलीका लागि निकै महत्वपूर्ण सफलता बनेको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकी बालिकाको नाम मनिषा मगर हो। बालिकाको अवस्था र घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए।

उद्धारपछि एपीएफ टोलीले बालिकालाई सुरक्षित स्थानमा लगेर प्राथमिक उपचार गरेको थियो। शुक्रबार साँझ उनलाई टिमुरे बीओपीमै सुरक्षित राखिएको थियो।

शनिबार थप उपचारका लागि बालिकालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवागढीसहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षतिपुर्‍याएको थियो। बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली परिचालन भइरहेका छन्।

TOP