जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
विजयनगर, १५ भदौ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले नेकपा एमालेबाट जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएसँगै पार्टीभित्रै विवाद चर्किएको छ ।
गत ५ गते उनीहरूले रास्वपाको सदस्यता लिएको विषय सार्वजनिक भएपछि स्थानीय तहदेखि जिल्ला र केन्द्रीय तहसम्मका नेताकार्यकर्ताबीच फरक-फरक धारणा देखिन थालेको हो । सदस्यता प्रक्रिया, त्यसको आधिकारिकता तथा स्थानीय पार्टी संरचनालाई जानकारी नदिई सदस्यता दिइएको विषयमा प्रश्न उठेको छ ।
विशेषगरी चौधरी र मुसलमानले प्राप्त गरेको भनिएको सदस्यता कार्डलाई लिएर रास्वपाका कार्यकर्ताबीच सामाजिक सञ्जालमा ‘सक्कली–नक्कली’ भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यसले उनीहरूको सदस्यता आधिकारिक हो कि होइन भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ ।
सदस्यता विषयमा रास्वपाभित्रै फरक धारणा
रास्वपा जनसम्पर्क विभागका केन्द्रीय सदस्य राशिद मिर्जा बेगले भने कुनै पनि व्यक्तिले आफ्नो इच्छा अनुसार राजनीतिक दलको सदस्य बन्न पाउनु लोकतान्त्रिक अधिकार भएको बताएका छन् । उनले विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानलाई रास्वपामा हार्दिक स्वागतसमेत गरेका छन् ।
तर रास्वपा जिल्ला उप-सभापति रामनिवास पुरीले सदस्यता कार्डमा क्युआर कोड भएको वा नभएको विषयलाई लिएर ‘सक्कली-नक्कली’ छुट्याउने विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सदस्यता परिचय-पत्रमा क्युआर कोड आउने वा नआउने प्राविधिक विषय हुनसक्छ । उनले भने, “मेरोमा क्युआर नै छ । अरूले के-के भन्छन् मलाई थाहा भएन ।”
यसको ठीक विपरीत रास्वपा केन्द्रीय महाधिवेशन प्रतिनिधि चिन्ता बहादुर परियारले भने चौधरी र मुसलमानले लिएको भनिएको सदस्यता कार्ड सक्कली नभएको दाबी गरेका छन् । उनले क्युआर नभएकाे सदस्यता परिचय-पत्र नक्कली भएको दाबी गरेका छन् ।
परियारले आफ्नो फेसबुक अकाउन्टमा “विजयनगर गापा उपाध्यक्ष र वडा अध्यक्ष दुवैले लिएको भनिएको सदस्यता कार्ड सक्कली होइनन्” भन्दै सार्वजनिक टिप्पणी गरेका छन् ।
स्थानीय समितिलाई जानकारी नै नभएको दाबी
रास्वपा विजयनगर गाउँपालिका सभापति लोकेश थापाले भने उपाध्यक्ष चौधरी र वडा अध्यक्ष मुसलमानलाई सदस्यता दिने क्रममा स्थानीय समितिसँग कुनै सल्लाह नगरिएको बताएका छन् । उनका अनुसार सदस्यता प्रक्रियाभन्दा पनि त्यसको गोपनीयता कसरी भंग भयो भन्ने विषय अहिले मुख्य प्रश्न बनेको छ ।
थापाले भने, “सदस्य दिलाउँदा विजयनगर समितिसँग कसैले सल्लाह गरेको पनि छैन । गोपनीयता भंग कसले गरेको हो, त्यो पनि हामीलाई जानकारी छैन। यहाँ चलेको मुख्य मुद्दा गोपनीयता कसले भंग गर्यो भन्ने हो । त्यसको सूक्ष्म तरिकाले छानबिन होस् र दोषीलाई कडा कारबाही होस् ।”
एउटै पार्टी, फरक धारणा
चौधरी र मुसलमानको सदस्यता प्रकरणले रास्वपाभित्र स्थानीय नेतृत्व र माथिल्लो तहबीच धारणा फरक रहेको संकेत गरेको छ । स्थानीय तहको पार्टी नेतृत्वले सदस्यता प्रक्रियामाथि प्रश्न उठाइरहँदा केन्द्रीय तहका नेताहरूले भने उनीहरूको पार्टी प्रवेशलाई स्वागत गरेका छन् ।
यससँगै विवाद केवल दुई जनप्रतिनिधिले दल परिवर्तन गरेको विषयमा सीमित नरही सदस्यता दिने प्रक्रिया, सदस्यताको आधिकारिकता, स्थानीय पार्टी संरचनाको भूमिका र गोपनीयता भंग भएको विषयसम्म पुगेको छ ।
यद्यपि चौधरी र मुसलमानको रास्वपा सदस्यता आधिकारिक रूपमा मान्य छ वा छैन भन्ने विषयमा सम्बन्धित पार्टीको आधिकारिक निर्णय वा प्रमाण सार्वजनिक नभएसम्म ‘सक्कली’ वा ‘नक्कली’ भनेर अन्तिम निष्कर्ष निकाल्न भने सकिने अवस्था छैन ।
सदस्यताकाे विषयमा यसरी विवादित भइरहँदा रास्वाले भने अझैसम्म आधिकारिक धारणा सार्वजनिक गरेकाे छैन । यस प्रकरणमा रास्वपाले औपचारिक रूपमा छानबिन गरी सदस्यता प्रक्रिया र त्यसको आधिकारिकताबारे स्पष्ट पार्नुपर्ने मागसमेत पार्टीभित्र उठ्न थालेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam