रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ।

सेनाको हवाई टोलीले आइतवार अपराह्न ३ बजेसम्म १६ जना विदेशी नागरिकसहित कुल ४०९ जनाको सफल उद्धार गरेको छ। उद्धार गरिएका विदेशी नागरिकहरूमा १५ जना चिनियाँ र १ जना भारतीय रहेका छन्।

यसैबीच, त्रिशूली–३ जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेका व्यक्तिहरूको उद्धारका लागि विशेष टोली निरन्तर परिचालित छ। गत भदौ १२ गतेदेखि अस्थायी रूपमा बेस क्याम्प खडा गरी खटिएको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटर जस्ता उपकरणहरूको प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको छ।

सुरुङमा गरिएको प्वालबाट अवलोकन गर्दा ७ मिटरको डायमिटरमा पानीको सतह निकै माथिसम्म देखिएको प्राविधिक टोलीले जनाएको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनाले ठूलो संख्यामा फौज परिचालन गरेको छ।

हालसम्म करिव ८ हजार ५ सयभन्दा बढी सैन्य जनशक्ति अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा राहत तथा उद्धार कार्यमा सक्रिय रहेका छन्। सेनाले प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा उद्धार र सहयोग कार्यलाई निरन्तरता दिइरहेको छ। स्रोतः थाहा खबर

TOP