कपिलवस्तुको हल्लानगरबाट ब्राउन सुगरजस्तो पदार्थसहित एक महिला पक्राउ

कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुअन्तर्गत वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार, २०८३ कात्तिक ८ गते राति करिब १० बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले हल्लानगरस्थित २३ वर्षीया अस्मिता बोहोराको घरमा खानतलासी गरेको थियो।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको पाँच सदस्यीय टोलीले घरको कोठामा रहेको दराजमाथि राखिएको कालो रङको लेडिज ब्यागबाट ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल १० ग्राम १६० मिलिग्राम रहेको छ भने प्लास्टिक हटाउँदा शुद्ध तौल ९ ग्राम २४० मिलिग्राम रहेको छ। घटनास्थलबाट लागूऔषध तौल गर्न प्रयोग गरिने एउटा डिजिटल मेसिनसमेत बरामद गरिएको छ।

बरामद पदार्थसहित बोहोरालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

TOP