खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन

कपिलवस्तु, १४ भदौ ।

राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय खुला रक्तदान कार्यक्रमबाट १४५ पोइन्ट रगत संकलन गरिएको छ । रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा, रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सहआयोजनामा तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले रक्तदान मानव जीवन बचाउने सबैभन्दा महत्वपूर्ण सामाजिक सेवामध्ये एक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय विपत्ति तथा आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

आज आयोजित रक्तदान कार्यक्रमका संयोजक गोपाल बन्जाडेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उहाँले रक्तदाताहरूको उत्साहजनक सहभागिताका कारण १४५ पोइन्ट  रगत संकलन गर्न सफल भएको जानकारी दिए ।

राष्ट्रिय विपत्तिको समयमा रगत अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राखेर हामीले यो कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष सन्तोष पौडेलले बताए । रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले युवाहरूलाई सामाजिक तथा मानवीय सेवामा जोड्ने उद्देश्यअनुसार नियमित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । क्लबले रक्तदानजस्तो मानवीय सेवामा सबैको निरन्तर सहयोग आवश्यक रहेको बताएको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्राविधिक टोली तथा रक्तदाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

TOP