सरकार र विप्लव समूहबीच वार्ताका लागि टाेली गठन भएकाेप्रति कांग्रेस सकारात्मक

काठमाण्डौ – नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वबीच वार्ताका लागि टोली गठन भएकोप्रति सकारात्मक देखिएकाे छ । 

प्रेस विज्ञप्तिमार्फत कांग्रेसले दुवै टोलीलाई इमानदार र वार्ताबाट समाधानमा पुग्न आग्रह गरेको छ । 

‘सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

मङ्गलवार नै विप्लव समूहसँग औपचारिक वार्ता गर्न सरकारले गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहनुभएको छ ।

त्यस्तै सरकारसँग वार्ताका लागि विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।  

TOP