आउँदाे चुनावमा २ वटा गठबन्धन बन्ने स्थिति छ : नेता खनाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्ने बताउनुभएको छ । 

आज बुधवार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलकाे गठबन्धन बन्छ कि ! दुई वटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ ।’

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आउँदा दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताउनुभयो ।

यस्तै नेता खनालले गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो । आउँदा दिनमा पनि त्याे सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

TOP