प्लटिङले अन्न उत्पादन घट्यो : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन्। 

बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले नेपाल धान बालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने बताए। उनले नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको बताए। अध्यक्ष ओलीले सहकारीका माध्यम अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए।

उनले धानखेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्न उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए।

उनले भने, ‘धान बाली नेपालका लागि अत्यन्त उपयुक्त छ। यसलाई अझै केही गुणा बढाउन सक्नुपर्छ। दोब्बरभन्दा बढी उत्पादन वृद्धि गर्नसक्छौँ। यसका निम्ति उत्पादन र उत्पादकत्व बढाउन जरुरी छ। धान बालीमा हामीले जोड दिन जरुरी छ। यसको उत्पादन र उत्पादकत्व वृद्धि गर्न जरुरी छ। प्लटिङ सिस्टम इत्यादिले धान खेती वा अन्न बाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउनुपर्ने, कहाँ शहर बनाउनुपर्ने, कहाँ खेती लगाउने भन्ने कुरामा गोलमाल भइरहेको छ। हामी बेठिक ढंगले चलिरहेका छौँ। यसलाई रोक्न जरुरी छ।’

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्न बढी मात्रामा आयात गर्नु अशोभनीय भएको चर्चा गरे। उनले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद भएको बताए। उनले लापरवाही र असावधानीका कारण यी गल्ती भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘आज धान, चामल नै असाधारण ढंगले बाहिरबाट आयात गर्नुपरेको छ। हामी कृषिप्रधान देश र सबैभन्दा बढी धान फल्ने देश बालीमध्ये धान धेरै फल्ने गर्छ। कृषिप्रधान देशको खाद्यान्नको स्थिति आयातमा भर पर्नुपर्ने अवस्था छ। यो अत्यन्त दुःखद कुरा हो।’

अध्यक्ष ओलीले असावधानी र लापरवाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई व्यवसायीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताए।

TOP