प्रचण्ड र माधव नेपालबीच भेट : विभिन्न नियुक्ति र राष्ट्रसंघका महासचिवको भ्रमणबारे कुराकानी


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको हो। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।

उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको पनि बताए। सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा आफूहरूबीच छलफल भएको उनको भनाइ छ।

‘भेटघाट भयो, विभिन्न विषयमा कुराकानी गरेका छौँ। समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ धनगढीमा । त्यो सल्लाह गरेर टुंगो लाग्छ । सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भयो। अर्थतन्त्रकै बारेमा पनि सफल बनाउने बारेमा छलफल भएको छ। उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुट्टै बैठक बस्ने सल्लाह दिएका छौँ । गठबन्धन दलका नेताहरू मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या रहेका छन्, हाम्रा अलगअलग धारणा छन् की छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो । नेपालले भने‚‘त्यसबाहेक दुई पार्टी बीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्ने बारेमा प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधनका बारेमा कुराकानी भयो । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि कुराकानी भए । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणमा भेटघाटको सन्दर्भ, संसदमा सम्बोधन गर्ने कुराको सन्दर्भमा पनि कुरा भयो। सदन सञ्चालन कहिलेसम्म हुने ? त्यस बारेमा पनि कुरा भयो ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको बताए।

TOP