तीन जिल्लाको संगम पञ्चासेमा सतबीज छर्न पुगेकालाई सेनाको स्वास्थ्य शिविर

पर्वत : नेपाली सेनाको नयाँ रणभीम गुल्मले पञ्चासे क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

समुन्द्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थलमा शनिवार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। हरेक वर्ष बाला चतुर्दशीको दिनमा हजारौँको सङ्ख्यामा श्रद्धालुहरू शतबीज छर्न जाने गरेको उक्त ठाउँमा लेक लागेर बिरामी हुनेहरूले समस्या भोग्दै आएका थिए।

पञ्चासेमा रहेको मन्दिरसम्म सवारी नपुग्ने भएकाले तलबाट हिँडेर जाँदा सामान्य अवस्थामा रहेकाहरू समेत बिरामी हुने गरेका थिए भने सामान्य रोग भोगिरहेकाहरूको स्वास्थ्यमा गम्भीर समस्या पनि देखिने गरेको थियो। यस वर्षको बाला चतुर्दशीमा कसैले पनि समस्या भोग्न नपरोस् भनेर पञ्चासेमा लागेको मेलाको नजिकै लगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी सुवास थापा क्षेत्रीले बताए।

पञ्चासेस्थित वाराही मन्दिर, सुदामा मन्दिर र पञ्चासे तालमा लागेको वृहत् मेलामा शनिवार करिब २० देखि २५ हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहजताको लागि सुदामा (राधा कृष्ण। मन्दिर परिसरमा शिविर राखिएको थियो। शिविरमा आएका अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्याहरू देखिएका थिए।

शिविरमा नं. २३ वाहिनी अड्डा बागलुङका वाहिनीपति सहायक रथी जगत् बहादुर पौडेल, नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी सुवास थापा क्षेत्री सहित नं. २३ फि.ए. गुल्मका चिकित्सक अधिकृत सहितको मेडिकल टोली पञ्चासेमा पुगेको थियो। मेलामा पुगेकी मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले सेनाले भक्तजनहरूको लागि राखेको शिविरले निकै सहयोग पुगेको बताए। नजिकमा बस्ती नै नभएको उच्च ठाउँमा कोही बिरामी परिहाले समस्या भोग्नुपर्ने बाध्यतालाई सेनाले हटाएकोमा उनले खुसी व्यक्त गरिन्।

यो शिविरले नेपाली सेना र नागरिकबिचको सम्बन्धलाई थप मजबुत बनाउन सहज भएको गुल्मपति क्षेत्रीले बताए। सेनाले मन्दिर निर्माण तथा सरसफाइ, बाटो मर्मत तथा सरसफाइ, परम्परागत भौतिक संरचनाको मर्मत र संरक्षण, खानेपानी योजना मर्मत तथा निर्माण लगायतका कामहरू पनि गर्दै आइरहेको उनको भनाइ छ।

TOP