खच्चडले गाउँलेका जीवन गुजारा
घनश्याम भर
(रुकुम पुर्व) कपिलवस्तु, १५ माघ ।
लुम्बिनी प्रदेशकाे रुकुम पुर्व एक हिमाली जिल्ला हो । प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो । जिल्लाले धौलागिरी हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ । ७ हजार २ सय ४६ मिटरको उचाईमा रहेको धौलागिरी दुई पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) हो । पूर्वी रुकुम जिल्लालाई सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरुमा सूचीकृत गरेको छ । पूर्वी रुकुम जिल्लाको सदरमुकाम रुकुमकोट हो ।
लुम्बिनी प्रदेशकाे रुकुम पुर्वकाे पुथा उत्तरगंगा गाउँपालपका–२ मा पेल्मा गाउँ अवस्थित छ । प्रदेशको अन्तिम गाउँ पेल्मा हाे । पुथा हिमालको काख र डोल्पा जिल्लाकाे फिद हाे । यो गाउँ ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र छ । यहाँ दलित समुदाय र मगर समुदायको बाहुल्य बसाेबास छ । मगर संस्कृतिले छुट्टै पहिचानसमेत कायम गरेकाे छ । पाहुनालाई आफ्नै परम्परागतगत भेषभुषामा स्वागत गर्ने चलन छ । करिब यहाँ १ सय बढी घरधुरी संख्या रहेका छन् । डोल्पा र बाग्लुङको सिमानामा पर्ने पेल्मासम्म सडक पुगेको छैन । पेल्मामा शिक्षा, स्वास्थ्य, पुर्वाधार जस्ता विकासका आधारभूत सुविधा उपलब्ध छैनन् । सडक पुगेको स्थल हुकाम र मैकाेटबाट यहाँसम्म पुग्न करिब एक दिन पैदल यात्रा गर्नुपर्छ । आवतजावत गर्ने घाेडा-खच्चड यहाँको मुख्य साधन हाे । खच्चडबाट नै हरेक मालवस्तु, सरसामान, खाद्यान्न लगायतका वस्तुहरु ओसारपसार गरिन्छ । हिमाल-पहाडकाे उकालो र ओरालोले अन्य साधनकाे सम्भावना नैे छैन ।
पेल्माबासीले पिडैपीडा सहेर जीवन बिताई रहेका छन् । समयमा कुुनै सेवा सुविधा लिन सकेका छैनन् । बिरामी पर्दा औषधी पाइदैन । बाहिर उपचार गर्न जाने अवस्था समेत छैन । हिमाली क्षेत्र भएकाले यहाँ वर्षमा एक बाली मात्र उत्पादन हुन्छ । यहाँका बस्तीमा आलु र स्याउको उत्पादन राम्रो हुने गरेको स्थानीयले बताउँछन् । यसकाे साथै मकै, फापर, काेदाे पनि उत्पादन हुने गरेकाे उनीहरूकाे भनाइ छ । वडा नम्बर २ कै पेल्मासँगै यमखार, डिख्राबाङ, झार्लुङ, हिम, गुईबाङ, तिज्याङ, रल, हार्दिबाङ, जस्मुर, तमा र कायमडाँडा लगायतका बासिन्दा अभावमा बाँचिरहेका छन् ।
पेल्माका जीतमान विश्वकर्माले मैकाेटबाट खच्चडमा मकै किनेर घरतिर लगिँदै गरेकाे अवस्थामा साेेही बाटामा पैदल यात्रा गर्दै पेल्मा जान लागेका पत्रकार टाेलीसँग जम्कभेट भयाे । उनले ७ ओटा खच्चडमा मकै बाेकेर पेल्मा गाउँतिर हिँडिरहेका थिए । उनीसँँग जिज्ञासा लागेर प्रश्न गरियो । खच्चडमा के बाेकेर हिड्नु भएको हाे ? उनले भने “मकै बाेकेर घरतिर हिँडेकाे सर । खानापिन पुग्दैन के गर्ने ? मकै किनेर घरतिर हिँडेकाे हाे । खान लाउनकै दुःख छ ।” उनले बाटाेमा पैदलकाे थकानले उकालोमा स्याँस्याँ गर्दै हामीलाई जवाफ फर्काए ।
यस्तै जुनमाया बुढा मगरले प्रायः सबैकाे घरमा खच्चड भएकाे बताइन् । उनले खच्चडलाई खानाकाे सार्है समस्या भएको बताउँछिन् । उनले भनिन् “हामीले पनि मकैकाे भरमा बाँचेका छाैँ । यहाँ फापर काेदाे पनि उत्पादन हुन्छ तर खच्चडलाई पनि खुवाउनुपर्छ । हामीले खानै पर्याे जीवन गुजारा गर्न । खच्चड नपाल्ने हाे भने खच्चड बिना बाँच्न सकिँदैन । सरसामान र खाद्यान्न लगायत सबै काम खच्चडबाटै गर्ने हाे ।” उनले वडाका बासिन्दाले जीवन निर्वाह गर्नका लागि ठुलो संघर्षमा लडिरहेकाे भन्दै दुु:ख व्यक्त गरिन् ।
बिरमान मगरले भने “स्याउ त जति पनि फल्छ । राम्रो उत्पादन पनि हुन्छ । सबै खान पनि सकिँदैन । बाहिर निर्यात गर्न सार्है समस्या छ । बाटो छैन । गाडी आउँदैन । खच्चडमा बोकाएर बजारमा लैजान धेरै महँगो पनि पर्छ । गाउँलेले उत्पादन गरेका धेरै स्याउ कुहिएर पनि जान्छ । “वर्षभरि खाद्यान्न किनेर खानुपर्ने बाध्यता भएकाे बताउँदैे रोजगार नहुँदा आम्दानी पनि नभएको उनले बताए । बिरमान प्रतिनिधि पात्र मात्र हुन् । गाउँबासी सबैका पीडा यस्तै छन् ।
समाजसेवी जयराज बुढाले यहाँ स्याउ र आलुको राम्रो व्यावसायिक खेती गर्न सकिने बचाए । उनले उत्पादिन वस्तुकाे बजारीकरण गर्ने हो भने मात्रै पनि यहाँको जीवन स्तर सुधार गर्न सकिने दाबी गरे । बजार नहुँदा आफूहरूले बर्सेनि उत्पादन घटाई रहेको बुढाकाे भनाइ छ । उत्पादन बजारसम्म पुर्याउन कठिनाई भएको बताउँदै काम गर्ने मान्छे पनि घट्दै गएको बताए ।
पेल्मा गाउँमा एउटा आधारभूत विद्यालय छ । कक्षा ८ सम्म मात्र पढाइ हुन्छ । साे भन्दा माथि पढ्न घर छोडेर जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । त्यस्तै यहाँ एउटा आधारभूत स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा चाहिएका बेला औषधि पाइँदैन । यहाँको जनस्वास्थ्यको अवस्था एकदम नाजुक रहेको उनीहरु बताउँछन् । उपलब्ध स्वास्थ्य सेवासुविधा दिइरहेको भए पनि पेल्माबासीका लागि प्रयाप्त छैन । विभिन्न सरकारी सेवा दिने निकाय पनि यहाँसम्म बिरलै पुग्ने गरेको स्थानीयको गुनासो छ ।
सरकारी सुविधा लिनका लागि गाउँपालिका कार्यालय र जिल्ला सदरमुकामसम्म जान खर्चिलो हुने स्थानीयकाे भनाइ छ । यस्ता विभिन्न अभावका बीचमा पनि पेल्माको सम्भावना पनि धेरै छ । यार्चा पकेट मानिने पुपाल यही वडाभित्र पर्छ । यसबाट यहाँका जनताले अधिकतम लाभ लिन सक्ने सम्भावना देख्छन् । ढोरपाटन सिकार आरक्ष क्षेत्रका दुई ओटा सिकार ब्लगहरू फागुने र दुले पनि यही वडाभित्र पर्छन् । यसकारण सिकारी पर्यटकको आवागमनलाई पनि पेल्मासँग जोड्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ । अहिले हेलिकप्टरमार्फत आइरहेका पर्यटकलाई ढोरपाटनबाट फागुने पास हुँदै पेल्मा ओराल्न सकेमा यसले यहाँको पुरानो विरासत फर्काउन सक्ने उनीहरुले बताउँछन् ।
यहाँसम्म सडक पुर्याउन सकेमा यहाँबाट फागुने पास कटेर ढोरपाटनसम्म गजबको पदयात्रा गर्न सकिन्छ । गाउँपालिकाले यहाँका नागरिकका माग र आवश्यकताको परिपूर्ति गर्दै सम्भावनाबाट फाइदा लिने, पेल्मा र यहाँका अरू बस्तीलाई विकासको गतिमा लैजाने प्रयास गरिरहेकाे समाजसेवी सुन्दर विश्वकर्माले सुनाए ।पेल्माको विकासमा स्थानीयसँगै प्रदेश र संघ सरकारले प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ । यहाँ ठूलो लगानी गर्न स्थानीय सरकारले सक्ने अवस्था नभएकाे हुँदा प्रदेश र संघ सरकारले विशेष ध्यान दिन आवश्यक छ ।
कपिलवस्तुका पत्रकारकाे एक टाेली माघ ९ गते अन्तर जिल्ला अवलाेकन भ्रमण गर्न रुकुम पुर्व जिल्लाकाे अन्तिम गाउँ पेल्मा पुगेको थियोे । कृष्णनगर नगरपालिकाले सहयोगमा प्रदेशकै अति विकट, दुर्गम हिमाली क्षेत्रमा अवस्थित पेल्मा गाउँबासीकाे जनजीवनकाे अध्ययनकाे लागि पत्रकारको टाेली पुगेकाे हाे । हिमाल-पहाडकाे उकालो, ओरालो हुँदै करिब ८ घण्टाकाे पैदल यात्रापछि पत्रकारको टाेली पुगेेकाे थियोे ।
मैकाेटबाट पैदल यात्रा गर्दै रातिकाे बसाई पेल्माकाे एक हाेमस्टेमा बस्यो । यहाँ अर्को दिन प्राकृतिक तातोपानी पानीकाे मुहानमा नुहाएर पुनः पैेदल यात्रा तय गरिँदै पेल्माबाट अर्काे बाटाे हुँदै करिब १० घण्टापछि हुकाम गाउँ गाडी हिड्ने स्थानमा पुगेकाे थियोे ।
दिनभरकाे हिँडाईपछि पेल्मामा पुग्दा आहा ! भन्ने हुन्छ । कठिन बाटाेकाे बावजुद पैेदल यात्राले शरिरकाे दुखाईले आराम खाेजिरहँदा यहाँ प्राकृतिक सुन्दरता हावापानी, पुथा हिमालकाे मनमाेहक दृश्य, तातोपानी कुण्ड र रैथाने खानाले छुट्टै स्वादिष्ट, वातावरणले आनन्दमय बनाउँछ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam