ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा


सरकारले सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मेयर देवकुमार नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लामो समय राजनीतिक संरक्षणमा रोकिएको थियो र नयाँ महान्यायाधिवक्ताको निर्देशनपछि मात्र मुद्दा दायर भएको छ।
देवकुमार नेपालीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन आरोपमा अनुसन्धान भएको थियो, तर तत्कालीन सरकारले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरेको थियो।
२५ असोज, पोखरा । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।

बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ ।

पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए । ’यसअघि सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो,’ शर्माले अनलाइनखबरसँग भने ।

सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो । एमालेबाट ढोरपाटन नगरपालिकामा दोस्रो पटक मेयर पदमा विजयी नेपालीलाई केपी ओली सरकारले सम्पति शुद्धीकरण मुद्दा नलगाएर जोगाउन खोजेको आरोप थियो । अनलाइनखबर

TOP