मानव अधिकार र आप्रवासी दिवसको तामझाम : श्रमिकलाई महसुस हुने गरी परिवर्तन कहिले हाेला ?

अङ्ग्रेजी महिनाको नोभेम्बर र डिसेम्बरमा धेरै अन्तर्राष्ट्रिय दिवसहरु तामझामका साथ मनाइने गरिन्छ । लैङ्गिक हिंसा विरुद्धको अभियान, अन्तर्राष्ट्रिय बालअधिकार दिवस, मानव अधिकार दिवस, अन्तर्राष्ट्रिय आप्रवासी दिवस लगायतका दिवसहरु नोभेम्बर र डिसेम्बरमा नै मनाइन्छ । यी सबै दिवसहरुको आफ्नो छुट्टै महत्व पक्कै पनि छ ।  

दिवसको अवसरमा ऐतिहासिक घटनक्रम, पृष्ठभूमि, वर्तमानमा यसको सान्दर्भिकतालाई आधार मानेर कार्यक्रमहरु चलाइएको छ  । र यस्ता कार्यक्रमहरुले मानव अधिकारको विषयलाई आम जनसमुदायमा चेतना बढाउन ठूलो भूमिका खेलेको छ । 

यिनका आफनै महत्व हुँदाहुँदै पनि के यस्ता दिवसहरुले वास्तवमा नै समुदाय खासगरी आप्रवासी श्रमिकहरुले नै महसुस हुनेगरी योगदान गरेको छ कि छैन ? कि  उही दाताहरुले दिएको रकम खर्च गर्नुपर्ने बाध्यताबीचको एउटा खर्च गर्ने माध्यम मात्र भएको छ ? यी प्रश्न उठ्नु स्वभाविक हो । यसो भन्दैमा यी महत्वपूर्ण दिवसहरुको अबमूल्यन गर्न खोजिएको होइन । तर यसलाई मानउने हाम्रो प्रवृत्ति र प्रक्रियालाई प्रश्न गर्न खोजिएको हो ।

प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस आ– आफ्नो मौलिकताको साथ ८ दिनको अन्तरालमा मनाईंदै आइएको छ । 

के हो अन्तर्राष्ट्रिय मानव अधिकार र आप्रवासी दिवस ?

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ संयुक्त राष्ट्रसंघको महासभाबाट अनुमोदन भएको दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाइन्छ । सन् १९५० मा संयुक्त राष्ट्रसंघको महासभाबाट संकल्प प्रस्ताव ४२३ (५) पारित भएपछि औपचारिक रुपमा डिसेम्बर १० मा  विश्व समुदायले यो दिवस मनाउँदै आइरहेको हो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले मानव अधिकार, मौलिक अधिकार र स्वतन्त्रताको बृहत्तर क्षेत्रलाई समावेश गरेको छ । जुन अहिलेको अवस्थामा पनि सान्दर्भिक र आवश्यक देखिन्छ । मानव अधिकारको अवधारणा विभिन्न चरण र कालखण्डमा विकास भएता पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले यसको विश्वव्यापी परिभाषा गरेको छ ।

यद्यपि यो घोषणापत्र बाध्यकारी छैन । तर पनि विभिन्न सदस्य राष्ट्रहरूलाई मानव अधिकारप्रति संवेदनशिल र जिम्मेवार बनाएको छ । 

आप्रवासनको बढ्दो प्रभाव र असरलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले २०१८ मा डिसेम्बर १८ लाई विश्व आप्रवासी दिवसको रुपमा घोषणा गरेको हो । सन् १९९० मा यही दिन संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी सम्बन्धी महासन्धीलाई पनि अनुमोदन गरेको थियो । 

त्यसैगरी डिसेम्बर सन् २०१८ मा इन्टरगभरमेन्ट कन्फ्रेन्सले ग्लोबल कम्प्याक्ट फर सेफ, अडर्ली एण्ड रेगुलर  माइग्रेसन (Global Compact for Safe orderly and regular migration -GCM) अनुमोदन गर्यो । यसमा २३ वटा विभिन्न उदेश्यहरु छन । जसले आप्रवासनलाई मर्यादित र व्यवस्थित गर्न ठूलो योगदान गर्न सक्छ ।

आप्रवासी श्रमिकको वास्तविकता

आप्रवासी सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संयन्त्रहरुले काम त गरिरहेका छन् । तर यसले श्रमिकले महसुस गर्ने गरी परिवर्तन गर्न सकेको छैन । केही उदाहरण हेरौं :

रोल्पाका सन्तोषलाई आफ्नै गाउँको एक एजेण्टले अमेरिकाको प्रलोभनमा पारे । स्वदेशमा गरिबी, अभाव र भरपर्दो कुनै रोजगारीको अवसर नदेखेका सन्तोषलाई अमेरिकाको सपनाले सजिलै आकर्षित गर्‍यो । बल्लतल्ल विभिन्न निकायको सहयोगमा उनीहरु नेपाल त फर्के, तर दोषीलाई कारबाही र ठगीएको पैसा फिर्ताको लागि खासै पहल भएको छैन ।

गाउँमा हुर्केका सन्तोषलाई अमेरिका जाने प्रक्रियाको बारेमा के थाहा ? एजेण्टले त्यही मौका छोपे । एजेण्टले जे जे भने त्यही गर्दै गए । सुरुमा सन्तोषले ३ लाख रुपैयाँ एजेण्टलाई बुझाए । यसरी एजेण्टको जालमा फस्ने सन्तोष एक्ला लिएनन् । उनीसँग गाउँकै अर्को साथी पनि थिए । जो सन्तोषजस्तै अमेरिका जाने सपना लिएर एजेण्टले भने अनुसार गरिरहेका थिए । 

यसरी उनीहरुलाई भियतनाम, सिङ्गापुर, श्रीलङ्का हुँदै मालाबी पुर्‍याए । मालाबी पर्‍याएर होटलमा बन्धक बनाए । ज्यान मार्नेसमेतको धम्की दिई घरबाट पैसा मगाउन बाध्य बनाए  । एजेण्टले लगभग २५ लाख रुपैयाँ सन्तोषबाट उठाए । बल्लतल्ल विभिन्न निकायको सहयोगमा उनीहरु नेपाल त फर्के, तर दोषीलाई कारबाही र ठगीएको पैसा फिर्ताको लागि खासै पहल भएको छैन ।

सप्तरीका प्रकाश बहिनीको बिहेमा लागेको ३ लाख रुपैयाँ ऋण तिर्न थप एक लाख ५० हजार ऋण लिएर २०१६ मा मलेसिया पुगे । श्रम स्वीकृति लिएर गएको भए पनि १२  घण्टा काम गर्नुपर्ने, तर पारिश्रमिक करार सम्झौता अनुसार दिइएन । स्वास्थ्यको ख्याल नगरी बाध्यतामा उनले काम त गरे, तर कमाउनुको सट्टा उनको स्वास्थ्य बिग्रंदै गयो । बाध्य भएर उनले कम्पनी छोडे । तर नेपाल भने फर्कन सकेनन् । किनभने ऋणको बोझ बाँकी नै थियो । 

अलेखबद्ध भएर काम गर्नु उनका लागि झनै कठिन हुँदै गयो । अन्तमा पीएनसीसीको पहलमा नेपाल त फर्के । तर न त उनीसँग ऋण तिर्ने पैसा थियो, न त राम्रो स्वास्थ्य अवस्था । अब उनी नेपालमा केही गर्न चाहन्छन् । विभिन्न निकायबाट सहयोगको अपेक्षा गर्छन् । तर कहाँबाट कस्तो सहयोग पाइन्छ भन्नेबारेमा भने उनी अनभिज्ञ छन् ।

अब के गर्ने ?

सन्तोष र प्रकाश त प्रतिनिधि पात्र मात्र हुन । वैदेशिक रोजगारीको बाहानामा धेरै युवाहरु यसैगरी ठगीमा परिरहेका छन् । 

यदि हामीले तामझामसहित मनाउने दिवसहरुले प्रभाव पारेको भए ती युवाहरु यसरी ठगिने थिएनन् कि ?अहिलेको तत्कालीन अवस्थामा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई समुदायमा पुनःस्थापना गराउनेमा केन्द्रित भयौं भने श्रमिकले महसुस गर्ने गरी परिवर्तन सम्भव हुने थियो कि !

प्रकाशजस्ता वैदेशिक रोजगारीमा गएर फर्केका श्रमिकहरुले कहाँबाट सहयोग पाइन्छ भनेर अनभिज्ञ भएर बस्नु पर्दैन थियो होला । 

हामीले हाम्रो काम गर्ने तरिकामा फरकपन ल्याउन आवश्यक छ । दाताले दिएको रकम खर्च गर्नेमा मात्र केन्द्रित नभई हाम्रो प्रयास श्रमिक केन्द्रित हुनुपर्छ । ठूला होटलमा तामझामसहित दिवस मनाउनेभन्दा श्रमिकलाई जागरुक र सशक्त बनाउनमा ध्यान जानुपर्छ ।

अहिलेको तत्कालीन अवस्थामा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई समुदायमा पुनःस्थापना गराउनेमा केन्द्रित भयौं भने श्रमिकले महसुस गर्ने गरी परिवर्तन सम्भव हुने थियो कि !

TOP