सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (तस्बिरसहित)
कैलाली – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेकपा (दाहाल–नेपाल समूह) ले विरोध सभाको आयोजनासहित शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनको विरोधमा सभा सहितको शक्ति प्रदर्शन गरिएको हो । धनगढीको चौराह र क्याम्पसरोडबाट नारा लगाउँदै जुलुस निकालिएको थियो । जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्री विरूद्धमा नाराबाजी गरेका थिए ।

सभालाई सम्बोधन गर्न नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गरेका छन् । आमसभालाई सो समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावल, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले पनि सम्बोधन गरेका छन् ।
ओली युगको अन्त्य भयो, पतन निश्चित छ : नेपाल
सुदूरपश्चिमको धनगढीमा पुगेर आमसभालाई सम्बोधन गरेका नेकपाका नेता माधवकुमार नेपालले देशमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन् । ‘केपी ओली युगको अन्त्य हुँदैछ, उनी अस्ताउँदा सूर्य हुन्’, धनगढी खुलामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो, ‘हामी उदाउँदो सूर्य हौं, नेपाल कम्युनिष्ट पार्टी चम्किएर आउँदैछ ।’

ओलीलाई दुर्योधनको संज्ञा दिदै नेपालले कौरवको विनाश दुर्योधनको अहंकारका कारण भए झै ओलीको अहंकारका कारण ओली र ओलीका मतियारहरुको पतन निश्चित रहेको बताउनुभयो । उहाँले ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यहरुप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘केपी ओलीका म्यादी केन्द्रिय सदस्यहरुलाई मास्क लगाएर लाज छोप्न सक्ने अवस्था छैन् । उनीहरुलाई बुर्का लगाइदिनुहोला ।’
आफूहरुले ल्याएको गणतन्त्र, संघीयता, लोकतान्त्रिक तथा समावेशीकरण ओलीले समाप्त पार्न खोजेको नेपालले आरोप पनि लगाउनुभयो ।
‘केपी ओली कम्युनिष्ट पार्टीमा जन्मिएका कुसन्तान हुन्’, नेपालले भन्नुभयो, ‘केपी ओली बिग्रिएकोमा चिन्ता नगर्नुस् । उनी सुध्रिनेवाला छैनन् । बालुवा पेलेर तेल निस्किँदैन ।’

जनतासँग जोडिएका सरोकारका विषय उठाउँदा ओली कहिल्यै सुन्न तयार नभएको आरोप पनि नेता नेपालले लगाउनुभयो । लकडाउनमा सुदूर पश्चिममा अलपत्र परेका नेपाललीलाई देश भित्रन नदिएको प्रसंग उठाउँदै नेता नेपालले ओलीको कडा आलोचना गर्नुभयो ।
यस्तै कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार र हत्याको विषयलाई पनि उहाँले जोडका साथ उठाउनुभयो ।
‘हामीले पार्टीमा कुरा उठायौं । बलात्कारीलाई दण्डित गर भन्यौं, तर केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन’, नेता नेपालले भन्नुभयो, ‘केपी ओली सरकारको पहिलो गाँसमा नै ढुंगा पस्यो र झिंगा पस्यो । आजसम्म पनि निर्मलालाई न्याय दिन सकेन ।’
केपी ओली आफै सिद्धिदैछन् : प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले आफैमाथि कलंकको टीका लगाएको आरोप लगाउनुभएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो । आफैलाई खलनायकको रुपमा स्थापित गर्नुभयो ।’
नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताउँदै उहाँले संसद् विघटन नभएको तर्क गर्नुभयो ।

‘संसद् भंग भएको छैन । संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ?’,उहाँले भन्नुभयो, ‘बरु केपी सरकार विघटन भयो भन्ने मेरो भनाइ छ ।’
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले न्याय गर्नेमा प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्चले न्याय गर्छ हामी सही फैसला हुने विश्वासमा छौ ।’ त्यस्तै, यस्तै प्रचण्डले केपी ओलीलाई कारबाही गर्ने तागत संसद र आफूहरुलाई रहेको बताउनुभएको छ ।
प्रचण्डले आफूलाई छाडेर हिँडेका नेता लेखराज भट्ट दलालको पनि दलाल भएको पनि बताउनुभयो । अध्यक्ष दाहालले भट्टको नामसमेत नलिई आफैँले हुर्काएको मान्छे छोप्न नसकिने गरी दलाल बनेर गएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधान कुल्चेः रावल
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले केपी शर्मा ओलीले आफैले हस्ताक्षर गरेको संविधान कुल्चेको आरोप लगाउनुभयो ।
‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु’, रावलले भन्नुभयो ।
निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिलेका बेला सबैले भोट दिएको स्मरण गर्दै उहाँले ओली प्रधानमन्त्री भएको सरकारले मिचिएका भूमि फिर्ता ल्याउने ठानेको भए पनि त्यसो नगरेको बताउनुभयो ।
नेकपालाई विसर्जन गरी ओलीले पार्टीप्रति विश्वासघात गर्न १५०१ को केन्द्रीय कमिटी बनाएको भए पनि निर्वाचन आयोगले खारेज गरिदिएको उहाँको भनाइ थियो । किसानलाई विस्थापित हुने गरी विदेशी कम्पनीलाई फाइदा हुने गरी ओलीले षड्यन्त्र गरेको पनि रावलले आरोप लगाउनुभयो ।

‘प्रधानमन्त्रीले अन्याय गरे’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई हेपेको बताउनुभयो । विरोध सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले अन्याय गरे, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल खेले ।’

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले प्रधानमन्त्री ओली र संघीय सरकार जनविरोधी र विकास विरोधी भएको पनि आरोप लगाउनुभयो । केही पदलोलुप नेता ओली समूहमा गएको र निष्ठावान नेता कार्यकर्ता आफूहरुसँग भएको समेत बताउनुभयो ।
‘सिंहदरबारमा बसेको शासक बहुलाएको छ’
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूरपश्चिम सह–ईञ्चार्ज खगराज भट्टले सिंहदरबारमा बसेको शासक बहुलाएको बताउनुभएको छ । धनगढीमा भएको आजको विरोध सभालाई सम्बोधन गर्दै उहाँले बहुलाएको शासनले संविधानलाई टोकिरहेको बताउनुभयो । केपी ओलीलाई अरिंगालको संज्ञा दिदै उहाँले भन्नुभयो, ‘अरिगांलले टोक्ने मात्र काम गर्ने भएकोले अरिगांललाई परास्त गर्नुपर्छ ।’

विरोध सभामा वाईफाईको व्यवस्था
आजकाे विरोध सभामा निःशुल्क वाइफाईको समेत व्यवस्था गरिएको थियो । सभामा नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सम्बोधन गरिसकेपछि उद्घोषक नेपबहादुर चौधरीले सो कुराको जानकारी गराउनुभएको थियो ।
उहाँले कार्यकर्तालाई सामाजिक सञ्जालमा विरोध सभाको प्रत्यक्ष प्रसारण गर्न आग्रह गर्दै भन्नुभयो, ‘यस कार्यक्रम स्थलभित्र निःशुल्क वाईफाईको व्यवस्था छ । एउटाको पासपर्ड भायोनेट नेट वनटूथ्री र अर्कोको पासवर्ड नेकपा वानटूथ्री रहेको छ ।’
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


