गोकुल बाँस्कोटालाई सांसद कँडेलको जवाफ : ‘जस्ता गुरु, त्यस्तै चेला’

काठमाण्डाै – प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलबीच घोचपेच भएको छ । विशेष समयमा बोल्नुभएका सांसद बाँस्कोटाले सरकारले कैयौँ राम्रा काम गरेको तर जस नपाएको भन्दै विपक्षीको निकै आलोचना गर्नुभयो । 

विशेष समयमा बाेल्दै सांसद बाँस्कोटाले विकासका लागि राजनीति नगर्ने हो भने के को लागि सांसद बनेको भन्दै प्रश्न पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले तीव्र विकास गरिरहेको छ, केहीलाई देखी नसक्नु भएको छ, विकास निर्माण देख्न र सुन्न नसक्नेले कानमा कपास र देख्न नसक्नेले साउने चस्मा लगाए हुन्छ ।’

त्यसपछि बोल्नुभएका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सुरुमै बाँस्कोटातर्फ लक्षित गरेर भन्नुभयो, ‘जस्ता गुरु, त्यस्तै चेला ।’

त्यसपछि कँडेलले २०७४ सालको चुनावको प्रचारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गोरखा पुगेर शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै कार्यकर्तालाई समवेदना दिएको स्मरण गर्नुभयो । देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र पार्टीको अध्यक्ष जस्तो पदमा बसेर के बोल्ने, के नबोल्ने भन्ने कुरा ओलीलाई ज्ञान नभएको कँडेलले बताउनुभयो । 

‘पछिल्लो समयमा ओलीका अभिव्यक्ति सुन्ने हो भने हामी आफैलाई लाज लाग्छ, ओलीका यस्तै अभिव्यक्तिले गर्दा उहाँसँगै लडेका कैयौँ साथीले छाडिसके, आफ्नै साथीलाई उहाँले पन्छाउनुभएको छ, कुर्सी छाड्नुपर्ने हो कि भन्ने पीडाले उहाँलाई सताएको छ, गोरखामा उहाँले शेरबहादुर देउवालाई जे भन्नुभएको थियो, त्यही शब्दमा हामीले भन्ने हो भने, सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुन् ।’ 

यसअघि प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।   

TOP