मिरिस्तीखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
म्याग्दी – ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण सम्पन्न मिरिस्तीखोलाको विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
माउण्टेन इनर्जी प्रालि नेपालले बनाएको यस आयोजनाको सबै काम सकेर आवश्यक तयारी पूरा गरेपछि उत्पादित विद्युतलाई बिहीबार राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हाे । आयोजनाको पावरहाउसभित्र रहेका तीनवटै युनिटबाट उत्पादित विद्युत दाना सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा पठाइएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो ।
मिरिस्तीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जोडिएको बताउँदै आवासीय इन्जिनियर खड्काले परीक्षणका लागि आयोजनाका सबै विद्युत युनिटहरु सञ्चालन गरिएको बताउनुभयो । परीक्षण उत्पादन र सव–स्टेशनमा विद्युत जडान कार्यका लागि नेपाल विद्युत प्राधिकरणको टोली नारच्याङ आएको उहाँको भनाइ छ । आयोजनाको २३ सय मिटर लामो सुरुङ तथा १६ सय मिटरको पाइपबाट ल्याइएको पानी तीनसय मिटर माथिबाट टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ ।
नारच्याङमा निर्माण गरिएको आयोजनाको पावर हाउसदेखि दाना सव–स्टेशनसम्म विद्युत् जडानका लागि ट्रान्समिसन लाइन निर्माण गरी उत्पादित विद्युत पठाइएको हो । नारच्याङको बेंसीगाउँमा रहेको पावरहाउसबाट परीक्षण उत्पादनको समय १५ दिन रहेको छ । यस अवधिमा उत्पादित विद्युत प्राधिकरणलाई निःशुल्क उपलब्ध गराइने हुँदा त्यसपछि व्यावसायिक उत्पादन गरिने जनाइएको छ । यसअघि दाना सव–स्टेशनमार्फत गरिएको परीक्षण सफल भएको थियो । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ ।
घलेम्दी र निलगिरी खोला मिसिएर मिरिस्ती नामाकरण भएको यस खोलाको सहायतामा ४२ मेगावाट क्षमताको विद्युत निकाल्ने तयारी थालिएको थियो । आयोजनाका लागि मिरिस्तीखोलाको मुहानतर्फ ड्याम निर्माण गरिएको छ । आयोजना निर्माणको सम्पूर्ण काम सकेर परीक्षण उत्पादन सुरु गर्दा झण्डै चार वर्षभन्दा बढी समय लागेको छ । गएको चैत तेस्रो साता परीक्षण उत्पादनको तयारी गरिएको भए पनि आयोजनामा कार्यरत कामदार तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि डेढ महिनापछि मात्रै उत्पादन परीक्षण थालिएको हो ।
कालीगण्डकीको किनारमा निर्माण गरिएको यस आयोजनाको पावरहाउसको छेकबाँधका लागि ग्याबिन, जाली तथा पर्खाल लगाइएको छ । आयोजनाको २०७३ सालको जेठ अन्तिमबाट निर्माणकार्य सुरु गरिएको थियो । तोकिएको समयमै आयोजना निर्माणसम्पन्न गरी विद्युत उत्पादन गर्ने भनिए पनि गतवर्ष विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस तथा लामो समयसम्म जारी लकडाउन, प्राकृतिक प्रकोप जस्ता कारणले निर्माणमा ढिलाई भएको हो ।
अन्नपूर्ण गाउँपालिकाअन्तर्गत विभिन्न वडामा निलगिरी जलविद्युत् आयोजना र निलगिरी क्यास्केट–२ गरी एकसय १० मेगावाट, घारखोला जलविद्युत् आयोजना १४ मेगावाट र रेलेखोला जलविद्युत् आयोजना ६ मेगावाट निर्माणाधीन अवस्थामा रहेको नारच्याङका स्थानीय अगुवा तेजबहादुर गुरुङले बताउनुभयो । यसैगरी कालीगण्डकी गर्ज एकसय ६४ मेगावाट, रुप्सेखोला जलविद्युत् आयोजना चार मेगावाट र मध्यकालीगण्डकी आयोजना ५३ दशमलव ५३ मेगावाट निर्माणको क्रममा रहेका छन् ।
यसअघि पाँच मेगावाट क्षमताको लघेम्दीखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई गएको माघ महिनादेखि कालीगण्डकी प्रसारण करिडोर आयोजना २२० केभी दाना सव–स्टेशनमार्फत उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकिएको छ । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना समेत सञ्चालनमा रहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


