रुकुम पश्चिमकाे अस्पताल क्यान्टिनमा छड्के, सुधार गर्न ६ बुँदे निर्देशन

रुकुम पश्चिम – रुकुम पश्चिमकाे सल्लेमा रहेकाे जिल्ला अस्पतालमा सञ्चालित चमेना गृह (क्यान्टिन) मा मङ्गलवार बिहान छड्के अनुगमन गरिएको छ । कोरोना महामारीका बेला क्यान्टिनमा गुणस्तरहीन र महँगो दरमा खाना र पानी दिने गरेको गुनासोसहितको समाचार उज्यालो रेडियो र अनलाइनमा प्रसारण, प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको नेतृत्वमा अनुगमन गरिएको हो ।   

निषेधाज्ञाको मौका छाेपेर चमेना गृहमा कालोबजारी हुने गरेको बिरामीहरुको गुनासो रहेको थियो । क्यान्टिनमा एक प्लेट चना र एउटा अण्डाको ९० रुपैयाँ, तातोपानी तताएको ५० रुपैयाँ, सादा खानाको तीन सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको बिरामीका आफन्तले बताएका थिए ।  

समाचार आएपछि प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले अस्पताल प्रशासनलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । मङ्गलवार बिहान मुसिकोट नगरपालिका, सञ्चारकर्मी, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकायसमेतको उपस्थितिमा क्यान्टिनको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रैले बताउनुभयो ।   

अनुगमनमालगत्तै चमेना गृह सञ्चालन गर्ने मनिष कुमार बस्नेतलाई ६ बुँदे निर्देशन दिइएको छ । चमेना गृहमा देखिने गरी साइन बोर्ड राख्ने, मूल्य सूची राख्ने, सामान्यभन्दा बढी मूल्य देखिएकाले नयाँ मूल्यमा खाना नास्ता खुवाउने, स्वच्छ, सफा र पौष्टिक खाना खुवाउने, सरसफाइमा ध्यान दिने लगायतका निर्देशन दिइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले बताउनुभयो ।  

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले समाचारपछि त्यस क्यान्टिन अनुगमन गरिएको बताउनुभयो । समाचारमा आएका समस्याका कुरा एक हप्ताभित्र समाधान गर्न निर्देशन दिएको अधिकृत तिवारीले बताउनुभयो । उहाँले क्यान्टिनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न र अनुगमन टोलीले दिएको निर्देशनकाे पनि पालना निर्देशन दिइएको बताउनुभयो ।   

TOP