२४ घण्टामा ६ हजार ८ सय ९१ सङ्क्रमणमुक्त, ४१ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार दुई सय ८६ जनकाे पीसीआर परीक्षण गर्दा आठ हजार एक सय ३६ जना र ६ सय ९३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

काेराेना सङ्क्रमणबाट थप एक सय ९६ जनाको ज्यान गएको छ भने २४ घण्टामा ६ हजार आठ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

४१ जिल्लामा पाँच सय बढी सक्रिय सङ्क्रमित

पाँच सय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाण्डाै, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । 

यसैगरी कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी छ । 

सक्रिय सङ्क्रमितको सङ्ख्या उच्च भएका जिल्लामा निषेधाज्ञा लगाइएकाे छ । निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर घट्न सकेको छैन । 

नेपालमा अहिलेसम्म चार लाख ७२ हजार तीन सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६१ दशमलव ७२ प्रतिशत अर्थात् दुई लाख ९१ हजार पाँच सय ३३ पुरुष र ३८ दशमलव २८ प्रतिशत अर्थात् एक लाख ८० हजार आठ सय २१ महिला छन् । सङ्क्रमितमध्ये तीन लाख ५२ हजार चार सय १४ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको दर ७४ दशमलव ६ प्रतिशत रहेको छ । अहिलेसम्म कोरोनाबाट पाँच हजार चार सय ११ ले ज्यान गुमाएका छन् ।   

TOP