रुकुम पश्चिम : अक्सिजन प्लान्ट सञ्चालन अनिश्चित, पाइप लाइन र ट्याङ्की खरिदको निवेदन नै परेन

रुकुम पश्चिम – जिल्ला अस्पताल रुकुम पश्चिममा सञ्चालन हुने भनिएको अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ । अक्सिजन पाइप लाइन जडानसहित भण्डार ट्याङ्क खरिदका लागि गरिएको सूचनाअनुसार कसैको पनि निवेदन प्राप्त नभएकाले जडानको काम अनिश्चित बनेको हो । यसका लागि भनेर आएको मुख्य मेशिन भने दुई महिनादेखि अस्पतालमै थन्क्याएर राखिएको छ । 

यसका साथै थन्क्याएर राखिएको अक्सिजन प्लान्टको मुख्य मेशिन खरिद प्रक्रियासमेत कर्णाली प्रदेशको संसदीय लेखा समितिको छानबिनमा परेपछि तत्काल जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

अस्पतालले निकालेकाे सूचना

अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले मुख्य मेशिन ल्याएर गएको जेठ १० गते अक्सिजन पाइप लाइन जडानसहित भण्डार ट्याङ्क खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । तर तोकिएको एक हप्ताभित्र कसैको निवेदन नपरेको कार्यालयका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीले बताउनुभयो । कार्यालयले अक्सिजन भण्डारण गर्न पाँच सय लिटरको ट्याङ्की र पाइप लाइनका लागि सूचना आह्वान गरेकोमा कसैको पनि निवेदन नपर्दा तत्काल यो कार्यले पूर्णता पाउन गाह्रो हुने उहाँको भनाइ छ ।

थन्क्याएर राखिएको अक्सिजन प्लान्टको मुख्य मेशिन

अक्सिजन पाइप लाइन जडानसहित भण्डार ट्याङ्क खरिदका लागि प्रदेश सरकारले १८ लाख रुपैयाँ पठाइदिएको समेत निमित्त प्रमुख बुढाथोकीले जनाउनुभयो ।

कोरोना सङ्क्रमित बिरामीका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा सिलिन्डर भर्नका लागि जडान गर्न लागिएको अक्सिजन प्लान्ट आवश्यक परेका बेला सञ्चालन नहुँदा यहाँका बिरामीलाई मर्का परेको छ ।  

TOP