‘बजेटमा देशभर १२ ठाउँमा स्मार्ट सहर बनाउने भनिएकाे छ तर एक कराेड मात्र छुट्याइएकाे छ’

काठमाण्डाै – सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतवारकाे बैठकमा बोल्दै उहाँले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रमका लागि बजेटको व्यवस्था नभएको प्रष्टयाउनुभएको हो ।

बजेटमा देशभर १२ ठाउँमा स्मार्ट सहर बनाउने भनिएको छ तर बजेट १० लाख रुपैयाँका दरले मात्र विनियोजन गरिएको उहाँको भनाइ छ । ‘१२ अर्ब बजट विनियोजन हुुनपर्नेमा जम्मा एक करोड रुपैयाँ मात्रै विनियोजन भएको छ’, सचिव सिंहले दुःखेसो पोख्नुभयो ।

यस्तै हनुमानढोकादेखि स्वयम्भूनाथसम्मको सांस्कृतिक पदमार्ग निर्माण गर्ने भनेर बजेट वक्तव्यमा भनिएको छ तर रकम विनियोजन भएको वार्षिक कार्यक्रममा त्यस्तो कुनै कार्यक्रम नै समावेश नभएको सचिव सिंहले जानकारी दिनुभयो । उहाँले उपत्यकाको यस्ता धेरै आयोजनाको घोषणा गरिए पनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पार्नुभयो ।

सरकारले ल्याएको बजेट वक्तव्य हेर्दा कार्यक्रम थपिएको, बजेट बढेको जस्तो देखिए पनि कार्यक्रममा रकम नै विनियोजन नभएको सहरी विकास मन्त्रालयको स्पष्टीकरण छ ।

TOP