“नेताहरूलाई बन्धक बनाएर नयाँ पार्टी बनाएको भन्नु बर्बराहट र पागलपन”

भदौ १० । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले नेताहरुलाई बन्धक बनाएर नयाँ पार्टी गठन गरेको भन्नु केपी ओलीको बर्बराहट र पागलपन भएको बताएका छन् । नयाँ पार्टी गठन व्यक्तिगत फाइदा, बेफाइदाभन्दा पनि एमालेभित्रका विकृति, विसंगति गैरकम्युनिस्ट चरित्रविरुद्ध विद्रोह भएको जिकिर पनि गरे ।आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भुसालले भने, “अर्को पार्टीका सांसदलाई अपहरण गरेर काठमाडौं ल्याउने केपी ओली रिस र आवेगले बर्बराउँदै हिँडेका छन् । हामी उनको पागलपनको पछि लाग्नु आवश्यक छैन । हामीले कसैलाई बन्धक बनाएका छैनौं । सबै कामरेडहरु स्वेच्छाले रिसोर्टमा जानुभएको हो । सबै संघीय सांसद प्रस्तावित केन्द्रीय कमिटीको सदस्य भएकाले भौतिक दूरी कायम गरेर हामीले पार्टीको विधान, घोषणापत्र र नियमावलीबारे डेढ दिन बहस र छलफल गरेका हौं ।”चन्द्रागिरीको  रिसोर्टमा बसेको खर्च सबै सदस्यले जनही तिरेको पनि उनले दाबी गरे । सबै खर्च प्रेम आले र किसान श्रेष्ठले गरेको चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “म मेरै गोजीबाट खर्च गरेर बसेको हुँ । अरु कमरेडहरु पनि त्यसरी नै बस्नुभएको हो । त्यहाँ हामी ७० जना थियौं । तपाईं पनि सत्य तथ्य खोज्नतिर लाग्नोस् ।”नेता डा. भुसालले एमालेभित्रका विकृति, विसंगति, गैरकम्युनिस्ट, जनविरोधी, लोकतन्त्रविरोधी, राष्टविरोधी चरित्रका कारण पार्टीभित्र विद्रोह अपरिहार्य भएको उनले बताए । उनले भने, “कम्युनिस्ट पार्टी नीति प्रधान हो, नेताप्रधान होइन । पार्टीभन्दा ठूलो राष्ट्र हो, लोकतन्त्र र संविधान हो । नेकपा एमालेलाई फुटाउने काम २०७७ फागुन २८ गते नै ओली गुटले गरेको हो । हामीले उल्टाउन खोजेका हौं । तर हामीभित्रैका साथीहरुले आत्मसमर्पण गरेकाले उल्टाउन सकेनौं । र अहिलेको स्थिति आयो ।”उनले केही व्यक्तिले साथ छाड्दैमा पार्टी पुनर्गठनको अभियान नरोकिने पनि बताए । उनले भने, “हाम्रो शक्तिले नेतृत्वमा पुगेका कतिपय साथीहरु पलायन भएका छन्, निष्ठाच्यूत भएका छन् । हिजोको अडान छाडेर ओलीसँग आत्मसमर्पण गरेर गएका छन् । तिनका कारण हाम्रो शक्तिमा खासै प्रभाव पर्ने छैन । पाँच सात जना नेतामात्र नभएका हुन् । तिनलाई नेता बनाउने तलका हजारौं कार्यकर्ता हामीसँगै छन् । कमरेड झलनाथ खनाल, माधव नेपाल हामीसँगै छन् ।”

सरकारमा जाने कुरा बैठक बसेर तय हुने पनि उनले बताए । उनले भने, “अब हामी दोस्रो चरणमा प्रवेश गर्छौं । आवश्यकता अनुसार सहभागिता जरुरी पर्यो भने जान्छौं । तर हामीले सरकारमा जान पार्टी फुटाएका होइनौं । शेरबहादुर देउवा सडकमा नहुँदा पनि हामी लडेका हौं । संसद्, संविधान, लोकतन्त्र र मुलुक बचाउन लागेका हौं । सरकार हाम्रो प्राथमिकता होइन ।”

TOP