देउवाको गृहजिल्लाको क्रियाशील सदस्यता विवादबारे बोले विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यतामा देखिएको विवादप्रति उपसभापति विमलेन्द्र निधिले चासो राखेका छन् ।

उनले डडेल्धुरा क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।

बुधबार सभापति देउवालाई पत्र लेख्दै उपसभापति निधिले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोग बिना एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिंनु अनुचित भएको पत्रमा उल्लेख गरेका छ ।

‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु,’ निधिले पत्रमा लेखेका छन् ।

जिल्लाले केन्द्रमा पठाएका क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट नाम हेरफेर भएको भन्दै जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले विरोध जनाएका छन् । उनले जिल्लाले पठाएका नामावली सूचीमा रहेका पाँच सय क्रियाशील सदस्यको नाम हटाइएको र तीन सयको नाम केन्द्रबाट थपिएको दावी गरे ।

जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेका हुन् । जिल्ला सभापति मल्ल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकट हुन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनले केन्द्रबाटै क्रियाशील सदस्यता थपघट हुनुले क्रियाशील सदस्यता छानविन समितिको भूमिकाप्रति नै आशंका गरेका छन् ।

TOP