नेकपा एमालेको केन्द्रीय कमिटी आज

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजोको स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। 

बैठक बिहान ११ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।  हिजोको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेश गरिने छ। 

सचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने छन्। त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने प्रवक्ता ज्ञवालीले बताए। 

उनका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन्।  महाधिवेशनमा थोरै प्रतिनिधि सहभागी गराउने निर्णय गरेको एमालेले गत राष्ट्रिय विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधिलाई सहभागी गराएको थियो।

TOP