दिल्लीमा वायु प्रदूषण‚ लकडाउन गर्न अदालतको सुझाव

एजेन्सी । भारतीय सर्वोच्च अदालतले दिल्लीमा बढ्दो प्रदूषणलाई लिएर शनिबार सुनुवाइका क्रममा सरकारले दुई दिनको लकडाउनबारे विचार गर्नुपर्ने सुझाव दिएको छ।

भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशद्वय डि वाई चन्द्रचूडा र सूर्यकान्तको इजलासले उक्त सुझाव दिएको हो। 

अदालतले वायु प्रदूषणका कारण उत्पन्न हुने आपत्‌कालीन अवस्थासँग जुध्न गरिएका निर्णयबारे सोमबार जानकारी गराउन केन्द्र सरकारलाई निर्देशन दिएको छ। अर्को सुनुवाइ सोही दिन हुनेछ। न्यायाधीशले पराल जलाउनुका साथै उद्योग, पटाका र धुलो दिल्लीमा प्रदूषणको कारण भएको बताए। उनले दुई दिनको लकडाउन पनि यसको समाधान हुन सक्ने बताएका छन्।​​

राज्यहरूले कडा कदम चाल्नुपर्ने

सुनुवाइका क्रममा प्रधानन्यायाधीशले राजधानीमा प्रदूषणको अवस्था खराब भएको र मानिसहरू घरमै मास्क लगाउन बाध्य भएको बताए। यसबारे सरकारले चालेका कदमको जानकारी दिन माग गरे।

यसबारे  महान्याधिवक्ता​ले पराल जलाउँदा दिल्लीमा प्रदूषण बढेको बताएका थिए। उनले किसानलाई जरिवाना गर्नुपर्ने माग गरेका थिए। यसमा प्रधानन्यायाधीशले भने, ‘तपाईँ प्रदूषणका लागि किसान जिम्मेवार छन् भन्न चाहनुहुन्छ। यसलाई नियन्त्रण गर्ने संयन्त्र कहाँ गयो ? अल्पकालीन योजना के हो? दुई दिनको लकडाउन पनि समाधान हुन सक्छ।’

सर्वोच्च अदालतले केन्द्र सरकारलाई आजै बैठक बोलाएर आपतकालीन कदम चाल्न आदेश दिएको छ। यसबारे महान्यायाधिवक्ताले आज बैठक बस्ने बताए।

किसानलाई दोष लगाउनु प्रचलन

अदालतले यो मुद्दालाई राजनीति र शासनबाट अलग रहेर हेर्नुपर्ने बताएको छ। सर्वोच्च अदालतले दिल्ली सरकारलाई धुँवा नियन्त्रण गर्ने टावर स्थापना गर्न र उत्सर्जन कम गर्ने परियोजना के भयो भनेर सोधेको छ। अदालतले आक्रोशपूर्ण स्वरमा भन्यो कि अब किसानहरूलाई दोष दिने फेसन बनेको छ, चाहे त्यो दिल्ली सरकार होस् वा अरू कोही।

दिल्ली सरकारलाई प्रश्न गर्दै अदालतले भन्यो, ‘तपाईंले राष्ट्रिय राजधानीका सबै विद्यालयहरू खोल्नुभयो र अहिले तिनीहरू पनि प्रदूषणको चपेटामा परेका छन्। यो केन्द्र  सरकारको नभई तपाईंको अधिकार क्षेत्र हो। यस्तो अवस्थामा के गर्दै हुनुहुन्छ?’

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकालाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ। चिकित्सकहरूले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। 

सर्वोच्च अदालतले केन्द्रबाट वायुको गुणस्तर कसरी ५०० बाट कम्तीमा २०० अंकमा झार्न सकिन्छ भनेर दुवै सरकारलाई सोधेको छ। अदालतले भन्यो, ‘दुई दिनको लकडाउन वा अन्य विकल्पको बारेमा सोच्न सक्नुहुन्छ ? मानिसहरू कसरी बाँच्ने?’ अदालतका अनुसार पराल फाल्ने मेसिन किसानले किन्न सक्दैनन्।’ अदालतले केन्द्र वा राज्य सरकारले किसानहरूका लागि यी मेसिनहरू किन्न सक्छ वा पराल  जलाउने समस्याको समाधान दिन सक्छ? भनेर सोध्यो।

नोभेम्बरमा सबैभन्दा बढी पराल जलाउने घटना आउने गरेका छन्। हावाहुरीसँगै परालको धुवाँ राजधानीसम्म पुग्ने क्रम जारी छ। प्रदूषणको कारक परालको धुवाँलाई पनि मानिएको छ।

केही विज्ञहरूले भने अधिकांश वायु प्रदूषण सडक र छेउमा उडेको माटोका कारण हुने गरेको बताएका छन्। दिल्ली-जयपुर राजमार्गमा सडकको दुबै छेउमा माटो छ। सवारीसाधन त्यो बाटो जाँदा धुलोको बादल बन्ने अवस्था छ। अधिकारीहरूका तर्फबाट राजमार्गको हेरचाह गर्ने एजेन्सीलाई पानी छर्कने र अन्य व्यवस्था गर्न निर्देशन दिइएको छ।

प्रदूषण नियन्त्रणका लागि सोमबार महत्वपूर्ण बैठक बस्दै छ। बैठकमा वातावरण लगायत धेरै विभागका अधिकारीहरू सहभागी हुनेछन्। बैठकमा यातायात विभाग र मेट्रो अधिकारीहरू पनि सहभागी हुनेछन्। गाडीको धुवाँ पनि प्रदूषणको प्रमुख कारक भएकाले सार्वजनिक यातायात प्रणालीमा मेट्रोबसको फ्रिक्वेन्सी बढाउन आवश्यक रहेको र यसका लागि यातायात विभाग र मेट्रोका अधिकारीहरूसँग छलफल गरिने अधिकारीको भनाइ छ।

आफ्नो सवारी साधन कम प्रयोग गर्न अनुरोध गरिएको छ। यसका लागि धेरैभन्दा धेरै बस कुदाउनुपर्छ र मेट्रोले पनि यो दिशामा कदम चाल्नुपर्ने आग्रह गरेका छन्।

अझै एक साता स्थिति भयावह हुने बताइएको छ। मानिसलाई घरबाहिर ननिस्कन सल्लाह दिइएको छ। 

हावाको गति १० देखि १२ किलोमिटर प्रतिघण्टा हुँदा प्रदूषित हावा पातलो हुँदै जान्छ र स्वच्छ हुन्छ। हाल दिल्लीमा हावाको गति प्रतिघण्टा २-३ किलोमिटर मात्रै छ। यस्तो अवस्थामा चिसो मौसममा बढ्ने शीतले झनै हावा गह्रुँगो बनाइदिन्छ र धुवाँले छेकिदिन्छ। शनिबार बिहान दिल्लीको वायुको गुणस्तर ४८४ थियो। 

वायुको गुणस्तर

०-५० ठीक

५१-१०० सन्तोषजनक

१०१-२०० मध्यम

२०१-३०० खराब

३०१-४०० निकै खराब

४०१-५०० खतरनाक​

रुघाखोकी र ज्वरो बढ्यो

प्रदूषणका कारण दिल्लीमा रुघाखोकी‚ ज्वरो‚ घाँटी दुख्ने विरामी बढेका छन्। मुटु र दमका रोगीलाई निकै असहज भएको बताइएको छ। चिकित्सकले दिल्लीमा फेरि कोभिड र डेंगुको प्रकोप बढ्ने चेतावनी दिएका छन्। मौसम एक्कासी परिवर्तन हुँदा शरीरले आफूलाई त्यसअनुकूल बदल्न नसक्दा रोग बढ्ने म्याक्स अस्पतालका डा. रोमेल टिक्कुले बताए। 

यसैगरी श्वास-प्रश्वासका विशेषज्ञ डा. सन्दीप नय्यरले प्रदूषण बढ्दा हावा गह्रुँगो हुने र त्यसले स्वच्छ हावाको अभाव हुँदा दम र श्वास-प्रश्वासका रोगी बढ्ने जानकारी दिए।

एम्सका निर्देशक रणदीप गुलेरियाले वायु प्रदूषण बढी भएको अवस्थामा कोरोनाको प्रभाव बढ्ने चेतावनी दिएका छन्। कोरोना श्वासप्रश्वास सम्बन्धी समस्यासँग सम्बन्धित भएकाले स्वच्छ हावाको अभावमा यसले भयावह रूप लिन सक्ने बताउँछन्।   

दिल्ली लगायत भारतका अरू पनि धेरै सहर अति प्रदूषित सहरमा पर्दछन्। संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा भारतीय सहर छन्।

दिल्लीमा मात्रै श्वासप्रश्वास सम्बन्धी रोगका कारण प्रत्येक वर्ष २५ हजार ५ सय व्यक्तिको ज्यान जाने गरेको छ। भारतमा प्रदूषित वायुका कारण वार्षिक १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कले देखाएका छन्।

TOP