जीप र माेटरसाइकलसँग तर्सिएर भाग्दा ११ भेडा–बाख्रा मरे

मनाङ – सवारी साधनसँग तर्सिएर भाग्दा मनाङमा ११ भेडा–बाख्रा मरेका छन् । 

हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडी गोठबाट बेसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारी साधनसँग तर्सिएर भाग्दा भिरबाट मर्स्याङ्दी नदीमा खसेर भेडा–बाख्रा मरेका हुन् ।  

सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङलगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेसी झर्ने क्रममा गएकाे मङ्गलवार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडा–बाख्रा भिरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । 

प्रमुख कुसुमका अनुसार भिरबाट ३१ भेडा–बाख्रा खसेकोमा दुई वटा बाख्रा र नौ वटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भिरबाट खस्दा भेडा–बाख्रा मरेकाे उहाँले बताउनुभयो । खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमनसमेत गरेका थिए । स्थलगत अनुगमनका क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचारसमेत गरिएको कार्यालय प्रमुख कुसुमले बताउनुभयो । 

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । आकस्मिक रूपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनर्स्थापना कार्यक्रमबाट सम्बोधन हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । 

व्यावसायिक भेडा–बाख्रा पालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा अहिले पाँच सय भेडा–बाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडी गोठ चिसो बढेसँगै बेसी झार्ने गरिन्छ । किसानले भेडी गोठबाट भेडा–बाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् ।

TOP