शिवराजका बाल विकास केन्द्रलाई सिकाई किट्स बक्स वितरण

शिवराज अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुकाे शिवराज नगरपालिकामा रहेका बाल विकास केन्द्रलाई  शैक्षिक सिकाई किट्स सामग्री वितरण गरिएको छ । बुधबार  नगरपालिकाका ६३ वटा बाल विकास केन्द्र र ३ वटा मदरसालाई सिकाई सामग्री किट्स बक्स प्रदान गरिएको नगरपालिकाले जनाएकाे छ । सेताे गुराँसकाे सहकार्यमा उक्त बाल सिकाई  शैक्षिक सामग्री बाल सहजकर्ताहरूलाई हस्तान्तरण गरिएको नगर शिक्षा शाखा प्रमुख लाेकराज पन्थीले जानकारी दिनुभयो । 

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शैक्षिक सिकाई सामग्रीले बालबालिकाहरूकाे सर्बपक्षीय विकासमा अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।  शैक्षिक सामग्रीले बालबालिकाहरूले सजिलै  अनुभव गर्न सक्ने, चिन्नजान्न, बुझ्न, सिक्न पाउनुकाे साथै सहज ढङ्गले अगाडी बढ्न मद्दत मिल्ने भएकाले बच्चाहरूकाे सिकाई प्रभावकारी हुने उहाँले जिकिर गर्नुभयो । बाल विकासका बच्चाहरूकाे भविष्य शिक्षिकाहरूकाे हातमा रहेकाे बताउँदै बच्चाहरूकाे सिकाईप्रति लगनशील भएर शैक्षिक सामग्रीलाई नियमित प्रयाेगमा नगर प्रमुख अधिकारीले जाेड दिनुभयो । 

नगर शिक्षा शाखा प्रमुख लाेकराज पन्थीले सिकाई किट्स बक्समा ६५ प्रकारकाे  खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराइएको बताउनुभयो । १ सय ८० दिनसम्म फरक-फरक सामग्री सिकाउन मिल्ने सिकाई सामग्री रहेकाे पन्थीले बताउनुभयो । उहाँले बालबालिकाले शैक्षिक सामग्री प्रयाेग गर्दा भाँचिने, फुट्ने, टुट्ने डरले चिन्ता लिनु नपर्ने बताउँदै  सामग्रीको सही तरिकाले सदुपयोग गर्दै सामग्रीप्रति आकर्षित पार्ने किसिमको क्रियाकलापमा बढी जाेड दिनुपर्ने बताउनुभयो ।

सिकाई सामग्रीले बालबालिकाकाे लगावलाई विषयवस्तुमा केन्द्रित गराउने भएकाले सजिलैसँग सिक्दै जाने र उनीहरूकाे बानी व्यवहारमा सकारात्मक परिवर्तन हुँदै जानुकाे साथै शरिरिक, मानसिक, सामाजिक र संवेगात्मक रूपमा चाैतर्फी स्वत: विकास हुने पन्थीले बताउनुभयो ।कार्यक्रममा बाल विकास सम्बन्धी १५ दिनसम्म तालिम लिएका शिक्षिकाहरूलाई सिकाई सामग्री प्रमाण-पत्र र प्रशंसा पत्रसमेत प्रदान गरिएकाेे छ ।

नगर प्रमुख नेत्रराज अधिकारीकाे प्रमुख आतिथ्यतामा, ५ नम्बरका वडा अध्यक्ष अर्जुन पाण्डे र सेताे गुराँसकी सहजकर्ता रिता थापा बाेहराकाे विशिष्ट आतिथ्यता रहेकाे कार्यक्रममा बाल विकास केन्द्रका सहजकर्ताहरूकाे उपस्थिति रहेकाे थियोे ।

TOP