एउटा त्यस्तो चित्र जसले ३० वर्षपछि आमाछोराको भेट गरायो

एजेन्सी-एक चिनियाँ नागरिकले बालककालको सम्झनामा कोरेको चित्रले उनकी आमासँग पुनर्मिलन गराएको छ। ती व्यक्तिको उनकी आमासँग ३० वर्षपछि पुनर्मिलन भएको हो।

३० वर्षअघि उनी बेचिएका थिए। बेचिएको ३० वर्षपछि उनले आफ्नो गाउँको नक्शाचित्र बनाएका थिए। उनले बनाएको गाउँको त्यही नक्साचित्रका आधारमा आफ्नी आमासँग भेट भएको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार चीनको युनान प्रान्तका ली जिङ्वेई सन् १९८९ मा हराएका थिए। युनानको दक्षिण पश्चिमी सहरबाट ४ वर्षको उमेरमा हराएका उनलाई बालबालिका तस्करहरूले करिब १८ सय किलोमिटर टाढाको सहरमा बसोबास गर्दै आएका निःसन्तान दम्पतीलाई बेचेका थिए।

आफ्नो बाल्यकालको सम्झनामा हातले कोरेको गाउँको नक्साचित्र उनले २४ डिसेम्बरमा एक भिडियो एपमा अपलोड गरेका थिए।

आफ्नो छोरा हराएकी आमाको बयानको आधारमा र उनले सेयर गरेको भिडियोमा देखिएको गाउँको प्रहरीले खोजी गरेको थियो।

डिएनए परीक्षणपछि शनिबार युनान प्रान्तमा उनीहरूको पुनर्मिलन भएको हो।

‘३३ वर्षको पर्खाइ, अनगिन्ती रातको तृष्णा र अन्तमा सम्झनाबाट हातले कोरिएको नक्साचित्र। धन्यवाद, मलाई मेरो परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्ने सबैलाई’, उनले भनेका छन्।

उनले आफ्नो घर फेला पारेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘मलाई सन् १९८९ मा एक जना छिमेकीले हेनान लगेका थिए। त्यसबेला म करिब चार वर्षको थिएँ’, सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा उनले भनेका छन्।

चीनमा सानो उमेरमा बालबालिका धेरै हराउने गरेका छन्। सन् २०१५ को  तथ्यांकअनुसार चीनमा बर्सेनि करिब २० हजार बालबालिका हराउने गर्छन्।

TOP