स्थानीय निर्वाचन : ऐन संशोधनको ‘च्याप्टर क्लोज’

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन वर्तमान ऐन अनुसार गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान ऐन अनुसार चुनाव हुने भनेपछि ऐन संशोधनको ‘च्याप्टर क्लोज’ भएको जानकारी दिएका हुन् ।

सञ्चारमन्त्री र कानुनमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले जेठ ४ मा निर्वाचन गर्ने तयारीका सन्दर्भमा ब्रिफिङ लिएका थिए । मन्त्री बडूले भने, ‘प्रधानमन्त्रीज्यूले निर्वाचन आयोगले जेठ ४ का लागि स्थानीय तहको निर्वाचन सिफारिस गर्नुभएको छ । तयारी कस्तो छ ? के गर्नुपर्ने हुनसक्छ भन्ने कुरा राख्नु भएको थियो ।’

अब ऐन संशोधन नगरी निर्वाचन गर्ने तयारीमा सरकार जुटेको कानुनमन्त्री बडूको भनाइ छ । उनले भने, ‘ऐन संशोधनको च्याप्टर क्लोज भइसक्यो । ऐन संशोधन नगरी जेठ ४ मा निर्वाचन गर्न सकिन्छ भन्ने कुरा भयो । अब वर्तमान ऐन अनुसार निर्वाचन हुन्छ ।’

उनका अनुसार संविधानसँग कानुन बाझिने कुरा छैन । पहिलो चरणदेखि नै काउन्ट गरेर जेठ पाँचमा पुरा कार्यकाल हुन्छ । ‘वर्तमान ऐनको व्यवस्था यही हो । यसै अनुसार गरौँ । अन्य कुरा गर्दा फेरी विवाद आउने भयो,’ उनले भने, ‘केही स्थानीय तह जनप्रतिनिधि विहीन हुने भए भन्ने निष्कर्षमा पुगेपछि ऐन संशोधनको च्याप्टर क्लोज भयो ।’ 

TOP