लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं :  लागुऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले देशमा विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

रूपन्देही देवदह नगरपालिका-१० आसाम टोलबाट करिब १ किलोग्राम गाँजा सहित २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी पक्राउ परेका हुन्। अस्थायी प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो।

यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ जहदीबाट करिब ४ ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित रूपन्देही गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने २७ वर्षीय लक्ष्मण पन्थी र सोही ठाउँ बस्ने ३५ वर्षीय दुर्गा राना मगर रहेका छन्।

भे.५ प ५१६० नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट करिब ६ ग्राम अवैध लागुऔषध खैरो हेरोइन सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय प्रवीण तामाङ र सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा पक्राउ परे।

बा.८६ प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

TOP