पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने यादवकाे भनाई

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धन अगामी प्रदेश तथा सङ्घीय चुनावसम्म कायम रहने बताएका छन्।

बुधबार अध्यक्ष यादवले पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी आए आफूहरूले स्वागत गर्ने जानकारी गराए।

अध्यक्ष यादवले फुट कसैका लागि ठीक नभएको स्थानीय तहको निर्वाचन परिणामले नै पुष्टि गरेको बोल्दै  मधेसको माग सम्बोधन गराउनका लागि लोसपासँग पार्टी एकता गर्न आफूहरू तयार रहेको समेत बताए।

अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीका कारणले निर्वाचनमा अनेकन् विकृतिहरू देखा परेको बताउँदै विश्वका ७१ भन्दा बढी राष्ट्रहरूमा लागू भएको समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त रहेको जानकारी गराए।

जन्मसिद्ध नागरिकता भएकाहरूको सन्तानलाई अविलम्ब नागरिकता प्रदान गरेर सबैलाई मतदाता नामावलीमा नाम समावेश गराउनु पर्ने  अध्यक्ष यादवको तर्क थियो।

अध्यक्ष यादवले मधेसको जनसङ्ख्या ५३ प्रतिशत भएकाले अहिलेको निर्वाचन क्षेत्रको पुनर्संरचना गरेर मधेसमा निर्वाचन क्षेत्र बढाउनका लागि जोडदार माग गर्दै सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय निजामती ऐन चाँडोभन्दा चाँडो पारित गरेर लागू गर्नुपर्ने जानकारी गराए।

एक महिनासम्म मुलुकमा निर्वाचनको प्रक्रिया चल्नु कुनै पनि दृष्टिकोणले ठीक नभएको बताउँदै निर्वाचन प्रणालीमा भएको त्रुटिलाई सम्बोधन गर्दै छोटो प्रक्रिया मार्फत चुनाव गराउनका लागि अध्यक्ष यादवले आग्रह गरे।

TOP