सरकारको दाबी : नागरिकता विधेयक चालू अधिवेशनबाटै पारित हुन्छ

काठमाडौं : सरकारले संसद्को चालू अधिवेशनबाटै नागरिकता विधेयक पारित हुने दाबी गरेको छ।

कानुन‚ न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द शर्मा कोइरालाले संसदमा विचाराधीन विधेयक चालू अधिवेशनबाटै पारित हुने दाबी गरेका हुन्। उनले विधेयक पारित गर्न प्रतिपक्षी नेकपा एमालेको शीर्ष नेतृत्वसँग छलफल जारी रहेको बताए।

गृहमन्त्री बालकृष्ण खाँण र आफू विभिन्न राजनीतिक पार्टीहरूबीच राष्ट्रिय सहमति जुटाएर विधेयक पारित गर्न छलफलमै रहेको मन्त्री कोइरालाले थाहाखबरलाई जानकारी दिए। नागरिकता नपाएका कारण, शिक्षा, रोजगारबाट वञ्चित भएका नागरिकको न्यायका लागि पनि विधेयक छिट्टै पारित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

मन्त्री कोइरालाले संसदीय समितिमा छलफलको क्रममा रहेको यौन हिंसासम्बन्धी विधेयकमा हदम्याद हटाउने व्यवस्था राख्ने नराख्ने विषय पनि छलफलकै क्रममा रहेको बताए। कानुनमन्त्री कोइरालालाई महोत्तरी बर्दिवासका जेनिश कोइरालाले ८ वर्षीया बालिकाको हत्या गर्नेलाई मृत्युदण्ड दिनुपर्ने व्यवस्था कानुनमा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

मन्त्री कोइरालाले मृत्युदण्डसम्बन्धी व्यवस्था कानुनमा गर्न नसकिने तर कानुनी कारबाही कडा बनाउने विषयमा छलफल भइरहेको जवाफ पनि दिएका छन्।

TOP