‘डिजिटल एडिक्सन’ को शिकार बन्दै बालबालिका, अभिभावक चिन्तित
म्याग्दी : टेबुलको आड लागेर घोप्टो परी मोबाइलमा टिकटक र यूट्युबमा मस्त रहने आफ्नी १३ वर्षीय छोरा अनिवको आनीबानी र व्यवहारमा आएको परिवर्तनले म्याग्दीको बेनी नगरपालिका २ की शर्मिला कार्की चिन्तित छिन्।
एकछिन मोबाइल नपाए छट्पटिने, रिसाउने, झर्किने, पढाइमा ध्यानै नदिने, गृहकार्य गर्दा पटकपटक मोबाइल हेर्ने र गाली गरे एकोहोरिने अनिव राति सुतेको वेला झस्किने समस्या देखिए पछि पोखरास्थित पद्मनरसिंह अस्पतालमा लगेर बालरोग विशेषज्ञलाई देखाइन्। चिकित्सकले छोरीलाई ‘डिप्रेसन’ को लक्षण देखिएको र मोबाइल लगायत सूचना प्रविधिका सामग्रीको प्रयोग कम गर्न नसके यो निकै खतरनाक हुने बताएपछि कार्की छाँगाबाट खसेजस्तै भइन्।
बेनी बजारमा बस्ने लिला पूर्जाका १० वर्षीय छोरा मोबाइलमा विभिन्न थरीका गेम खेल्थे। मोबाइलको लतमा पर्दै गएपछि पढ्न, खान र सुत्नसमेत छाडेर गेम खेल्ने, विद्यालय जान नमान्ने, वाइफाइ अफ गरिदिँदा झगडा गर्ने गर्न थालेपछि छोरालाई लिएर पुर्जा बेनी अस्पतालमा गइन् ।
‘मोबाइल खेल्दा के नै बिग्रेला भनेर दियौँ। वास्ता पनि गरेनौँँ’, उनी भन्छन्, अहिले छुटाउन एकदम गाह्रो भइरहेको छ।’ उपचारको क्रममा रहेका छोरा पछिल्लो समय विद्यालय जान अलि सहज मान्न थालेको पुर्जाले सुनाइन्।
म्याग्दीमा अचेल बालबालिकाले मोबाइलको प्रयोग गर्ने क्रम तीव्र रूपमा बढेको छ। अभिभावकले बच्चालाई पर्याप्त समय दिनेभन्दा अलमल्याउने सजिलो उपायका रूपमा मोबाइल, ट्याबलगायतका वस्तु दिने गरेका छन्। जसले समयक्रममा ‘डिजिटल एडिक्सन’ का कारण उनीहरूमा विभिन्न शारीरिक र मानसिक समस्या बढिरहेको सामाजिक विषयका शिक्षक धनवीर थापाले बताए। ‘डिजिटल वस्तुतिर एकोहोरिँदा बालबालिका असामाजिक बनिरहेका छन्’, थापाले भने।
बालबालिका इन्टरनेटमार्फत विभिन्न गेमको अम्मली मात्र बन्दैनन्, ‘पोर्नोग्राफी’तिर जाने जोखिम पनि हुने भएकाले अभिभावक विशेष सजग हुनुपर्ने शिक्षक बताउँछन्। ‘बच्चाहरूले मोबाइल र ट्याब कति समय खेल्छन् भन्ने कुनै लेखाजोखा हुँदैन’, अर्जुन माविका शिक्षक रघु शर्मा भन्छन्, ‘विस्तारै उनीहरूमा डिजिटल एडिक्सन हुन्छ। एक्लोपन बढाउँदै लग्छ र मानसिक रोगी बन्न पुग्छन्।
बालबालिकालाई सूचना–प्रविधिको जञ्जालमा हराउन नदिन उनीहरूको साथी बन्ने कोशिश गर्दै गुणस्तरीय समय दिनुपर्ने मनोचिकित्सक बताउँछन्। शारीरिक र मानसिक सबलीकरणमा सघाउने खेलकुद र सिर्जनशील कार्यमा बच्चाहरूसँग आफू पनि सहभागी हुने तथा परिवारभित्र र छरछिमेकका अन्य बालबालिकासँग घुलमिल गर्न प्रेरित गरेर सामाजिक सम्बन्ध विस्तार गर्न लगाउनुपर्ने उनीहरूको भनाइ छ।
बालबालिकामा डिप्रेसन, एन्जाइटी, अप्सेसिभ इम्पलसिभ डिसअर्डर (ओसीडी) लगायत मानसिक समस्या देखिने गरेको छ। डिप्रेसन भएका बालबालिका सामान्य कुरामै रिसाउने, झर्को मान्ने, नियमित काममा अरुचि देखाउने जस्ता लक्षण देखिन्छन् भने एन्जाइटी भएमा विना कारण आत्तिने, डराउने, स्कूल जान नमान्ने हुन्छन् । यस्तै, तीन÷चार वर्षको उमेरदेखि देखिन सक्ने ‘ओसीडी’ भएका बालबालिकाले एउटै कुरा बारम्बार सोधिरहने, कुनै काम गर्न शुरू गरेपछि एकोहोरो गरिरहने चिकित्सक बताउँछन्।
मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम पछिल्लो समय देखिन थालेको छ। कतिपयले आत्महत्या गर्नेसम्मको कदम चाल्ने गरेकाले बालबालिकाको मानसिक स्वास्थ्यमा घरपरिवार, विद्यालय र राज्य संवेदनशील बन्नुपर्ने चिकित्सक बताउँछन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam