विशेष अदालतबाट ८८ प्रतिशतले पाए सफाइ

काठमाडौं: विशेष अदालत काठमाडौंमा सुनुवाई भएको अधिकांश मुद्दाका प्रतिवादीले सफाइ पाएका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा गरेको फैसलामा करिब ८८ प्रतिशतले सफाइ पाएका हुन्। 

सो आर्थिक वर्षमा विशेष अदालतले ३३८ मुद्दाको फैसला गरेको थियो। जसमा २९५ मुद्दामा सफाई दिएको अदालतको तथ्यांकमा उल्लेख छ। अदालतले ४२ मुद्दामा दोषी ठहर गरेको छ भने २० मुद्दामा आंशिक ठहर गरेको छ। 

विशेष अदालतमा विशेषतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले नीतिगत भ्रष्टाचार सम्बन्धी मुद्दाहरु दर्ता गर्छन्। जसमा गैरकानूनी सम्पत्ति, घुस रिसवत, सम्पत्ति शुद्धीकरण, नक्कली प्रमाणपत्र, निर्णयगत भ्रष्टाचारसम्बन्धी मुद्दा लाग्ने गरेको छ। 

नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा भने विशेष अदालतले अधिकांश आरोपलाई सहि ठहर गरेको छ। गत आर्थिक वर्षमा फस्र्यौट भएका नक्कली प्रमाणपत्र सम्बन्धी ३० मुद्दामा ५ जनाले सफाइ पाएका छन् भने २५ जना दोषी ठहर भएका अदालतका प्रवक्ता एवम् उप रजिस्ट्रार दिपेन्द्र नाथ योगीले जानकारी दिए। यस्तै पुनरावेदन भएका ३३१ मुद्दामा अदालतले २६८ मुद्दाका प्रतिवादीलाई सफाई दिएको छ। 

अख्तियारले दर्ता गराएका मुद्दामध्ये करिब ४० प्रतिशतलाई मात्र भ्रष्टाचारजन्य कसुर कायम भएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। अख्तियारले दर्ता गरेको मुद्दामध्ये गत आवमा फैसला भएका १४८ मध्ये ५८ वटा मुद्दामा मात्रै अदालतले दोषी ठहर गरेको छ। अन्य ९० मुद्दामा भने सफाइ दिएको छ। 

अख्तियारले विशेष अदालतले कसुरबाट सफाइ दिएका ६० मुद्दामा भने पुनरावेदन दिएको भण्डारीले बताए। अख्तियारले रंगेहात समातेका तथा भ्रष्टाचार भएको पुष्टि गरी सप्रमाण पेश गरेका मुद्दामा पनि अदालतले सफाइ दिने गरेको छ। विशेष अदालतमा ४ सय ५३ थान मुद्दा विचाराधीन अवस्थामा छन्। 

विशेष अदालतले गत आर्थिक वर्ष २०७७/७८ र ०७८/७९ को गरी धरौटी स्वरुप ६२ करोड ९९ लाख ४ हजार २५८ रुपैंया राजस्व संकलन गरेको छ। तीमध्ये आ.व. ०७७÷७८ को ५३ करोड ८२ लाख ५५ हजार ३४५ र ७८÷७९ ९ करोड १६ लाख ४८ हजार ९१३ रुपैंया राजस्व संकलन भएको अदालत प्रशासनले जनाएको छ। यस्तै, फैसला बमोजिम भएको जरिवाना वापत ७२ लाख ३८ हजार ९४५ रुपैंया आम्दानी भएको प्रवक्ता योगीले बताए।

TOP