२०६४ मा मैले हारेपछि जनता पछुताएका थिए : ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ सालको संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन्।

गृहजिल्ला झापामा रहेका ओलीले बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने बताए। 

उनले ठट्टा गर्दै भने, ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ?’

पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा एकीकृत माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। 

तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे। 

दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै उनले आक्रोश व्यक्त गरे। पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने उनकाे भनाइ छ।

TOP