पाल्पामा आज भगवती जात्रा

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिँदै छ।

भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१\७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको थियो।

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने परम्परा छ। 

जितगढीको ऐतिहासिक युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिर सिंहले भगवती मन्दिरको मर्मत सम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए।

१८७७ सालदेखि  हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। २०४औँ संस्करणको रूपमा आज दिउँसो साढे १२ बजे भगवतीको रथ उठाउन साइत जुरेको भगवती गुठी व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिए।

TOP