रुसी आक्रमणमा युक्रेनका ९ हजार सैनिकले ज्यान गुमाए

काठमाडौं : रुसको आक्रमणका क्रममा आफ्ना ९ हजार सैनिकहरु मारिएको युक्रेनले बताएको छ। 

युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले  रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिकहरू मारिएको बताएका छन्। 

उनले  यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनका अनुसार थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा रहेको  र ती मध्ये कतिपय मारिएका छन्। बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा गम्भीर समस्या देखिएको छ।  

जारी युद्धका बीच भोलि युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ।  रुसी सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि  युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। 

६ महिनादेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा–इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ। 

यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगिनाकी छोरी डारिया  मारिएकी थिइन्।

TOP