कर्णाली नदीमा बाढी, जल सतहले खतराको तह पार गर्यो

काठमाण्डाै – कर्णाली नदीमा बाढी आएको छ । कर्णाली नदीमा जल सतहले खतरा तह पार गरेको र अझै थप पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २३ मिटरभन्दा माथि छ । १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।

कर्णाली नदीमा पानीको सतहले यी दुवै तह पार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न  बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, लगातारको वर्षाका कारण कर्णाली नदीमा आएकाे बाढी राजापुर तटीय क्षेत्रमा पस्न थालेको छ । राजापुरको दौलतपुरका केही घरमा बाढी पसेको स्थानीयले बताएका छन् ।

TOP