प्रधानमन्त्री देउवाकै गृहजिल्लाका २० प्रतिशत नागरिक बिजुलीबाट वञ्चित
डडेल्धुरा : आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै छ। राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जनतासँग मत माग्न अनेक आश्वासन दिइरहेका छन्। तर, नागरिकहरू पनि उम्मेदवारले दिएको आश्वासनले ढुक्क हुन सकेका छैनन्।
विगतका पुरानै एजेन्डा लिएर गाउँगाउँ पुगिरहेका उम्मेदवारलाई नागरिकहरू पनि सचेत गराउन थालेका छन्। यसैको एक उदाहरण हो, डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामाबासी। यहाँका स्थानीयलाई विगतदेखि नै उम्मेदवारले बिजुली पुर्याइदिने आश्वासन दिएपनि अझै गाउँमा बिजुली पुगेको छैन।
आश्वासन मात्रै दिने र निर्वाचन जितेपछि नफर्किने गरेका कारण आफूहरूले गाउँमा बिजुली पुर्याए मात्रै मतदान गर्ने अभियान सञ्चालन गरेको चामाका स्थानीय सुरेन्द्र बिष्टले बताए।
‘जब निर्वाचन आउँछ। तब मात्रै हाम्रो गाउँमा बिजुली पुर्याइदिने आश्वासन आउँछ,’ उनले भने, ‘यसपटक त हामीले अभियान नै सञ्चालन गरेका छौँ। नो इलेक्ट्रिसिटी नो भोट।’ गाउँमा बिजुलीका पोल पुगेको लामो समय भएको स्थानीय बताउँछन्। केही पोल गाडिएका छन्, केही भुइँमा छरिएका। भुइँमा रहेका केही पोल पुरिँदै गइरहेको बिष्टले बताए।
गाउँमा पोल त पुर्याइएका छन् तर बिजुली नहुँदा आफूहरू अन्धकारमै रुमलिन बाध्य भएको स्थानीय किशोर बिष्टले दुखेको पोखे। गाउँ झिलिमिली पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर गाउँलेहरू आफैँले बोकेर गाउँमा पोल लगेका थिए।
कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडे पनि अधिकांश स्थानीयबासी टुकी बालेर काम चलाइरहेका छन्। ‘गाउँमा बिजुली पुगेको छैन। मोबाइल फोन चार्ज गर्न पनि समस्या छ। गाउँ नजिकै विद्युत् उत्पादन भएर केही समय सहज भएको थियो तर अहिले त्यो पनि बिग्रिसकेको छ,’ उनले भने, ‘गाउँमा बिजुली नपुर्याए त हामी यस पटक मतदान गर्दैनौँ।’
पटक–पटक स्थानीय जनप्रतिनिधि नेता तथा विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रलाई खबर गर्दा पनि चासो नदिएको उत्तम बिष्टले आरोप लगाए। बिजुली नहुँदा विद्यार्थीलाई समेत पढ्न समस्या भएको उनको भनाइ छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला त्यसैमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको निर्वाचन क्षेत्र भएकोले स्थानीयले बिजुली पुर्याइदिन अनुरोध गरेका छन्।
यता नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादव भने तार अभावमा बिजुली पुग्न नसकेको बताए। ‘गतवर्ष हामीले सातवटै स्थानीय तहमा पोल पुर्याएका थियौँ। अब केही दिनमा तार आइपुग्छ। त्यसपछि बिजुली पुग्छ,’ उनले भने।
उनका अनुसार डडेल्धुरामा अझै २० प्रतिशत नागरिक बिजुलीबाट वञ्चित रहेका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam