नेकपा समाजवादीको बैठक : सरकारमा जाने मत बलियो
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए।
एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरे पनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरुको धारणा रहेको उनले जानकारी दिए।
प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन औपचारिक रुपमा प्रस्ताव नपठाएको खण्डमा पार्टी सरकारमा भने जानु नहुने नेताहरुले निष्कर्ष निकालेका छन्। उपमहासचिव तुलाधरले भने, ‘उहाँले (प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड) औपचारिक रुपमा प्रस्ताव पठाउनुभएको छ कि छैन? यदि त्यो प्रश्ताव पठाउनु भएको छैन भने हामी जानु हुँदैन भन्ने खालको निस्कर्ष निकाल्न खोजिराख्नुभएको छ। सरकारलाई समर्थन दिने सन्दर्भमा चाहीँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको जस्तो देखिए पनि मूल रुपमा यो एउटा खिचडी सरकारजस्तै बन्न गएको छ। र यसमा हामीले समर्थन दिने वा नदिनेको कुराको के अर्थ रहन्छ?’
तुलाधरले एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरुलाई भ्रममा पार्नका लागि एमालेका मान्छेहरुले पार्टी एकताको हल्ला चलाएका बताए। पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीको कार्यकर्ताहरुलाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको उनले बताए।
उनले एमालेसँग एकताको लागि कुनै प्रयास नभएको स्पष्ट पारे। उनले भने, ‘पार्टी एकताका सवालमा जे खालका चर्चा चलिरहेको छ, त्यो चर्चा नेकपा (एमाले) का केही मान्छेहरुले मात्र चलाएका कुराहरु हुन्। त्यसमा कुनै पनि हिसावले त्यो भ्रममा हामी पर्नुहुँदैन। हामी यसबाट जोगिनुपर्दछ। एकता हुन्छ भनेर हाम्रो कार्यकर्ता पंक्तिलाई भुलभुलैयामा राख्ने खालको जस्तो जुन षड्यन्त्र भइरहेको छ, यसबाट प्रष्ट हुनुपर्छ अहिले एकताको कुनै प्रयास उताबाट पनि भएको छैन र यताबाट पनि भएको छैन। अनौपचारिक रुपमा कुराहरु कहीँ कसैले गरिरहेका छन् भने त्यो बेग्लै कुरा हो भन्ने ढंगले कुराहरु उठेका छन्।’
उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिए। एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव यति छिट्टै नराख्ने उनको भनाइ छ।
उनले भने, ‘कहाँबाट कसरी आयो, यो हावामै आयो। हावामै गयो जस्तो लाग्छ। त्यति सजिलोसँग नेकपा(एमाले)को तर्फबाट फेरि माधवकुमार नेपाल त्यो पनि एकीकृत समाजवादीका अध्यक्षलाई यस्तो ठूलो प्रश्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन। त्यो गरेको पनि हो जस्तो मलाई लागिराखेको छैन। त्यस्तो खालको चर्चा कतै भएको भए हाम्रो पक्तिलाई भ्रमित पार्नको निम्ति ग¥यो भन्ने जस्तो लाग्छ।’
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठक आज साँझसम्म बस्ने एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले जानकारी दिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam