झलनाथको प्रस्ताव : राष्ट्रिय पार्टीसमेत बन्न नसक्नुको कारण खोजौँ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरूको पार्टीले राष्ट्रिय मान्यता पाउन नसक्नुको कारण खोज्नुपर्ने बताएका छन्।

शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकमा लिखित मन्तव्य राख्दै खनालले त्यसका वैचारिक र राजनीतिक कारणहरू खोज्नुपर्ने बताएका हुन्। प्रतिनिधसभाको प्रत्यक्षमा १० सिट जितेको समाजवादी पार्टीले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन। 

‘हामी के कारणले राष्ट्रिय पार्टीसम्म पनि बन्न सकेनौँ? त्यसका वैचारिक, राजनीतिक र सांगठनिक कारणहरू के हुन्? तिनीहरूलाई पत्ता लगाउँ र त्यस्ता गल्ती कमजोरीहरू फेरि कहिल्यै नदोहरिने संकल्प गरौँ।’ उनले लेखेका छन्, त्यसका लागि त्यही एजेन्डामा छलफल गर्न विशेष बैठक आयोजना गरौँ।’

उनले पार्टी केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, पालिका र वडा कमिटीसम्मलाई व्यापक पुनर्गठन गर्नुपर्ने उल्लेख गरेका छन्। साथै छरिता, साना र कामकाजी कमिटीहरू निर्माण गर्नुपर्ने खनालको भनाइ छ।

‘पार्टीको कमिटीभित्र रहेका तर काम गर्न नसक्ने वा नचाहनेलाई उपयुक्त व्यवस्थापन गरौँ। सल्लाहकार वा परिषदमा लैजाऔं।’ उनले उल्लेख गरेका छन् । 

खनालले पार्टीमा माथिदेखि तलसम्म एक पद एक व्यक्ति प्रणाली कडाइका साथ लागू गर्न र सबैलाई ठोस जिम्मेवारीमा केन्द्रित बनाउन पनि प्रस्ताव गरेका छन्। 

पार्टीको कार्यशैलीमा व्यापक सुधार गरी क्रान्तिकारी कार्यशैलीलाई नयाँ स्तरबाट पुनर्स्थापित गर्नुपर्नेमा उनको जोड छ।

TOP