अनलाइन बैंकिङमा छिरी ठगी गर्ने पक्राउ

काठमाडौँ : सुर्खेत भेरीगंगा नगरपालिका-३ घर भई काठमाडौँ नागार्जुन नपा-४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशमा रोजगारीको विज्ञापन गरी ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।

घर्तीले फेसबुक, वाट्सएप, आईएमओ जस्ता एप दुरुपयोग गरी आकर्षक तलबमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राख्ने गरेका थिए।

यसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता र राहदानीको प्रतिलिपि मोबाइल सेवाप्रदायक कम्पनीमा पेश गरी सिम डुप्लिकेसनको माध्यमबाट पीडितहरूकै मोबाइल बैंकिङमा पहुँच पुर्‍याई रकम अन्यत्र ट्रान्सफर गर्दै आएका थिए।

यसरी ठगी कार्यमा संलग्न उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पीडितहरूलाई वाट्सएपमार्फत सक्कल नागरिकता, बैंक स्टेटमेण्ट लगायतका कागजात तयार पार्नु भनी कल गर्ने र त्यस्ता कागजात धिरेन मगर नाम गरेका व्यक्तिले संकलन गर्थे।

ती कागजातको प्रतिलिपि मोबाइल सेवाप्रदायक कम्पनीबाट पीडितकै मोबाइल नम्बर निकाली उक्त सिमकार्डबाट पीडितहरूको मोबाइल बैंकिङ याक्टिभ गरी ओटिपी कोड दुबईमा भएका शेरबहादुर चौधरीलाई पठाउँथे।

यसरी पीडितहरूको मोबाइल बैंकिङमा छिरी रकम ट्रान्सफर गरी सिमकार्ड नष्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उनलाई ठगी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

TOP