केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेः बद्री पाण्डे

काठमाडौं : नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका छन्। सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे। संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाई थियो।

‘संसदको पहिलो दिन, जुन दिन यो संसदलाई शुभकामना दिनुपर्ने दिन थियो। त्यो शुभकामना दिनुपर्ने दिनमा हाम्रो संविधानमाथि आक्रमण गर्ने काम जिम्मेवार नेताहरूबाट भएको छ। पूर्व प्रधानमन्त्रीबाटै भएको छ। किनभने यो ठाउँमा उभिएर आफूलाई संविधानले नचिनेको, थाहा नपाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर त्यसको नाताले जुन किसिमले कार्यपालिका भन्दा ममाथि छु कि प्रधानमन्त्री त्यो उच्चस्तरीय संयन्त्रको सदस्य मात्रै हो भन्ने ढंगको अभिव्यक्ति हामीले उहाँको त्यो बुझ्न सकिन्छ। त्यसबाट के बुझिन्छ भने हामी स्पष्ट छौं–प्रधानमन्त्री भन्दा ठूलो कार्यपालिकामा कोही हुन सक्दैन हाम्रो संविधान अनुसार। कार्यपालिका भन्दा माथि छु कि भन्ने ढंगले कार्यपालिकामाथि धावा बोल्ने काम एकातिर भयो भने अर्को हिजो प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक थियो भनेर हामीले भन्यौ,’ सांसद पाण्डेले भने, ‘अदालतले भन्यो। दुईदुई पटक अदालतले भन्यो। अदालतको भनेको विषयलाई पनि अन्तका नजिरहरू देखाएर, अन्तका दृष्टान्तहरू देखाएर हाम्रो संविधानमाथि जसरी धावा बोल्ने काम भयो। प्रतिनिधिसभा विघटन गर्न सकिन्छ भन्ने खालको धावा बोल्ने काम भयो। त्यसले व्यवस्थापिकामाथि पनि प्रश्न चिन्ह उठाउने काम भयो। त्यतिमात्रै होइन् न्यायपालिकाका नजिरहरूलाई हामी सबैले सम्मान गर्नु पर्दछ। न्याय पालिकाको नजिरलाई कसैले पनि अपमान गर्न मिल्दैन। न्याय पालिकाका नजिरहरूलाई उलंघन गर्दै प्रतिनिधिसभा विघटनको जुन असंवैधानिक कुरा भयो। त्यसले गर्दा हामीलाई चिन्ता लागेको छ।’

सांसद पाण्डेले प्रतिनिधिसभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणा समेत राखे। नेपाली कांग्रेसले प्रतिपक्ष दलहरूको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ।

TOP