उच्च ओहोदाका व्यक्तिहरूलाई भ्रष्टाचार काण्डमा जेल हालौंः ज्ञानेन्द्र शाही
काठमाडौं : सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन्।
विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरूलाई पनि भ्रष्टाचारको काण्डमा सर्वश्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको उनको भनाई थियो।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारवाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाए। प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरूको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरूमाथि कडा कारबाही हुनुपर्ने बताए।
‘आज भ्रष्टाचारको फाईल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन। अख्तियार दूरपयोग निवारण आयोगलाई अख्तियार दूरूपयोग अनुसन्धान आयोग बनायौं। तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो। त्यसैले होला–ठूलाठूलो भ्रष्टाचार काण्डका आवाज सडक तातिन्छ। सदनमा सुनिन्छ। तर भ्रष्टाचारीलाई कहीँकतै कारबाही भएको देख्न, सुन्न पाईदैन,’ उनले भने, ‘हरेक दिन पत्रपत्रिका, सामाजिक सञ्जाल, अनलाईन मिडियाहरूमा हाम्रा र तपाईँहरूको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन। र, छापिन्छन पनि। तर सम्बन्धित निकायले देखेर पनि नदेखेजस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको छ, सभामुख महोदय। त्यसैले होला साना माछा मात्रै जालमा पर्ने, ठूल्ठूला माछा फुत्किने। यो कहिलेसम्म सभामुख महोदय ? हामीजस्ता तमाम नवजवान युवाहरू सिंगो मुलुकको भविष्य भ्रष्टाचारले गर्दा आज बर्बाद भएको छ। हामीलाई सुन्न र देख्न मन छ–अन्य देशका पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री वा निकायवालाका उच्च ओहोदाका व्यक्तिहरूलाई भ्रष्टाचार काण्डमा सर्वश्वहरण गरी जेल गएको र कारबाही भएको जसरी नेपालमा पनि होस् म यही कामना गर्न चाहन्छु।’
प्रमुख सचेतक शाहीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो अनुसन्धान मात्रै गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam