मकैमा गवारो देखिएपछि किसान चिन्तित

गौर : गवारोले उम्रनेबित्तिकै मकै सखाप पार्न थालेपछि रौतहटको उत्तरी भेगका किसान चिन्तित भएका छन्।

व्यावसायिक रूपमा मकै खेती हुने चन्द्रपुर नगरपालिकाको गौडाटार, सन्तपुर, वसन्तपुर, नजरपुर र सिन्दूरेघारी र वृन्दावनका विश्रामपुर, बलेरी लगायतका क्षेत्रमा गवारोको प्रकोप देखिएको हो। रातमा सक्रिय हुने गवारोले मकैको गुभाबाट खान सुरु गरेर पूरै मकैको बोट नष्ट गरिरहेको चन्द्रपुर–९ सिन्दूरेघारीका किसान कुमार गौतमले गुनासो गरे।

अत्यधिक मकै उत्पादन हुने वृन्दावन नगरपालिका वडा नं ८ र ९ क्षेत्रमा गवारोले हालसम्म ६ हेक्टर क्षेत्रफलमा लगाइएको हाइब्रिड जातको मकै नष्ट पारेको चन्द्रपुर नगरपालिका–९ का पूर्व वडाध्यक्ष गोविन्द दुलालले बताए।

दिनदिनै किराको प्रकोप बढ्न थाले पनि चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकाअन्तर्गत कृषि शाखाको टोलीले प्रभावित क्षेत्रको अनुगमन समेत गरेको छैन।

जैविक प्रकोपबाट बच्न किसानहरूले बाली बिमा गर्न आवश्यक रहेको चन्द्रपुर नगरपालिका कृषि सेवाकेन्द्र सन्तपुरका प्रमुख उमेश चौधरीले बताए।

नगदे बाली मकैबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान गवारोको आक्रमणबाट अनिकालले सताउने हो कि भनेर चिन्तित छन्।

विगतमा पनि रौतहटको उत्तरी भेगमा असिनापानीले किसानको मकै नष्ट गरेर पीडित भएका थिए। मकै राम्रो उत्पादन हुने क्षेत्रमा चन्द्रपुर र वृन्दावन नगरपालिका पनि पर्छ।

चन्द्रपुर नगरपालिकामा ९ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ६ हजार हेक्टरमा नगदे बालीको रूपमा हाइब्रिड मकै रहेको छ।

जिल्लाको उत्तरी भेगमा एक हेक्टरमा औसत ५, ६ मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको किसानको अनुभव छ।

मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान गवारोको आक्रमणबाट चिन्तामा परेका छन्।

TOP