गृहसहित ८ मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री प्रचण्ड


काठमाडौं : मन्त्रिपरिषद् गठन भएको २ महिनामा ७ मन्त्रीले राजीनामा दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीले आइतबार पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

राष्ट्रपति कार्यालयबाट आइतबार जारी विज्ञप्तिअनुसार राप्रपाका मन्त्रीले बुझाएको राजीनामा स्वीकृत भएको र उनीहरुले सम्हालेका मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने उल्ले‍ख गरिएको छ। प्रचण्डले गृहसहित ८ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र राप्रपाका ३ जना मन्त्रीले पदबाट राजीनामा दिएसँगै मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ। पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा नियुक्त ७ मन्त्रीले राजीनामा दिएर रिक्त रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हालेका हुन्।

राष्ट्रपति भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास र कानून‚ न्याय तथा संसदीय मामिता मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकेकी छन्।

राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङदेन, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानले राजीनामा दिएकाले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका रवि लामिछाने नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डले आफैँसँग राखेका छन्। वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डसँग अहिले ८ वटा मन्त्रालय छन्।

TOP