पानी नपर्दा सर्लाहीका किसान चिन्तित


सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।

विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।

यतिखेर इनार, कुवामा पानीको मात्रा घट्दा धमिलो पानी पिउन बाध्य भएको हरिवन नगरपालिका १ का वडाध्यक्ष टमबहादुर घिसिङले जानकारी दिए।

हिउँदे वर्षा हुने आशामा किसानले बाँझो रहेका खेतबारी खनजोत गर्ने तयारी गरेका छन्। फागुन महिनाको तेस्रो साता भइसक्दा पनि एक झर हिउँदे वर्षा हुन नसक्दा खेतबारी बाँझै राख्नुपरेको किसानको गुनासो छ।

किसानले पानी परेपछि मकैलगायत अन्य बाली रोप्नका लागि बारीमा मल छर्ने काम धमाधम गरिरहेका छन्। केही दिनदेखि मौसम धाम्मधुम्म भइरहँदा किसानको आँखा आकाशतिरै छ तर पानी पर्न सकेको छैन।

स्थानीय प्रशासनले खडेरी बढ्दै जाँदा आगलागीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। जिल्लामा जताततै खरका छानो भएका फुसका घर अत्यधिक रहेकाले यो समयमा ती घरमा आगलागीको उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले सचेत गराएको हो।

पानी पर्न नसक्दा यहाँको पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य कच्ची भित्री सडकमा अत्यधिक मात्रामा धुलो उड्दा जनजीवन प्रभावित बनिरहेको स्थानीय बासिन्दाले जनाएका छन्।

TOP