कैलालीमा दुई युवाका शव भेटिए


धनगढी : कैलालीस्थित कान्द्रा नखीमा डुबेर एकजनाको मृत्यु भएको छ। आज (आइतवार) जिल्लाको घोडाघोडी नगरपालिका-११ सिसैया गाउँ नजिकै कान्द्रा नदीमा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीमा माछा मार्न गएका भगवती माई गाउँपालिका–४ मनघर दैलेख घर भएका २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको हो।

साथीसँग शनिवार कान्द्रा नदीमा माछा मार्न गएका वेला उनी बेपत्ता भएका थिए। बेपत्ता भएपछि प्रहरी र स्थानीय उनको खोजीमा जुटेका थिए। खोजी गर्दैगर्दा आइतबार अत्तरियाबाट गएको गोताखोर टोलीले उनलाई मृत फेला पारेको जनाएको छ।

अहिले थापाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनी पहलमानपुर लालबोझी सडकखण्डमा मिक्स्चर चलाउने काम गर्दे आएका थिए।

यस्तै उता कैलालीको गोदावरीमा पनि युवक मृत फेला परेका छन्। गोदावरी नगरपालिका–२ शान्तिटोलका २७ वर्षीय सन्तोष चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी घरबाट करिब ५ सय मिटर टाढा भाम्का खोलामा मृत अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीको भनाइ छ।

TOP