मिथिलाञ्चल र मधेशमा आज चैते छठ मनाइँदै


जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल र मधेशमा आज (सोमबार) चैते छठ मनाइँदै छ।

४ दिन नियम निष्ठापूर्वक मनाइने चैते छठको मूल विधिअनुसार आज सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैते छठ विधिवत समापन हुनेछ।

कात्तिकमा मनाइने छठ जस्तै गरी उल्लेख्य संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैते छठ मनाउनेको संख्या बढ्दै गएको छ।

जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासागरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ। श्रद्धालु भक्तजनको खचाखच भीड लाग्ने गर्छ।

चैते छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा स्नान गरी उभिएर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ।

आज सूर्य अस्ताउनु एक घण्टा पहिलेदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्छन्।

अर्घ्यमा ठकुवा, भुसुवा, मूला, उखु, भण्टा, केरा, नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ। व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ।

चैते छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ। केही वर्ष पूर्वसम्म मारवाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने यो पर्व मनाउनेहरुको संख्या हाल बर्सेनि वृद्धि भइरहेको छ।

TOP